२ जेष्ठ २०८२, शुक्रबार

 

दुर्घटना बढेपछि गति नियन्त्रण अभियान, ‘लेजर–गन’ प्रयोग गरिने

नमूना सडकको रूपमा विस्तार गरिएको कलङ्की–कोटेश्वर चक्रपथ खण्डमा सवारी दुर्घटना बढेपछि गति नियन्त्रण अभियान सञ्चालन गरिने भएको छ ।

चीन सरकारको सहयोगमा सुधार र विस्तार गरिएको यो सडकखण्ड ९/९ किलोमिटर लम्बाइ र आठ लेनमा छ । गत वर्षको फागुनदेखि सञ्चालनमा आएको यो सडक खण्डमा यस अवधिमा ६६१ वटा सवारी दुर्घटना भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार, दुर्घटनामा परी १२ जनाले ज्यान गुमाएका छन् भने २३ जना गम्भीर र ४५८ जना सामान्य घाइते भएका छन् । दुर्घटना भएका सावरी साधनमा मोटरसाइकल, कार, जिप, ट्याक्सी, माइक्रोबस, बस र ट्रिपर गरी एक हजार १७० वटा छन् ।

कलङ्की–कोटेश्वर सडकमा सवारी दुर्घटना हुनुमा विभिन्न कारणमध्ये तीव्र गति मुख्य कारण भएको ट्राफिक प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक बसन्त पन्तले बताउनुभयो । सोमबारबाट कलङ्कीदेखि कोटेश्वरचोकसम्म गति नियन्त्रणसम्बन्धी सचेतना अभियान सञ्चालन गरिएको छ ।

सडकको मुख्य भाग (मेन लेनमार्ग ) मा प्रतिघण्टा ५० किलोमिटर र सर्भिस ( सहायक लेन) मार्गमा प्रतिघण्टा २० किलोमिटरको गतिमा सवारी गुडाउनुपर्ने कानुनी व्यवस्था गरिएको छ । तर, चालकले आफूखुसी ८०/९० देखि एकसयसम्मको गतिमा चलाउने गरेको पाइएको छ।

फराकिलो र खाली सडक देख्नेवित्तिकै आफूखुसी सवारीको गति लिँदा दुर्घटना बढेको भनाइ उहाँको छ । अर्को मङ्गलबारबाट तीव्र गतिमा सवारी हाँक्ने चालकलाई कारवाही हुने भएको छ । सवारीको गति नाप्न ‘लेजर–गन’ प्रयोग गर्ने तयारी भइरहेको छ ।

‘राडर गन’ को विकसित रूप लेजर गनको सहयोगले तीव्र गतिमा गुडिरहेका सवारीलाई लक्ष्यित गरी जाँच गर्ने र स्लिपपत्रसहित घटनास्थलमा नै कारबाही गर्ने जानकारी महाशाखाले दिएको छ ।

(आजको गोरखापत्र दैनिकबाट)

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung