१३ कार्तिक २०८३, बिहीबार

 

हुरीले बिचल्ली : कच्ची घरजति एउटै बचेनन्

कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आएको भीषण हुरीले जनजीवन बिथोलिएको छ । दुई जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते छन् । कैलालीमा ३ हजार घरका छाना उडाएको छ भने कञ्चनपुरमा २ सय घर क्षतिग्रस्त छन् । बिजुलीका पोल ढल्दा विद्युत् अवरूद्ध छ ।

कैलाली र कञ्चनपुरमा बिहीबार राति आएको हावाहुरीले दुई जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी घाइते छन् । प्रतिघण्टा एक सय किलोमिटर वेगमा आएको हुरी झन्डै एक घण्टा चलेको थियो ।

मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका १ मजगाउँका वीरबहादुर चौधरी र टीकापुरका लाहुन चौधरी छन् । कुखुराको खोर हेर्न गएका लाहुन हुरीले पर्खाल ढाल्दा गम्भीर घाइते भएका थिए । टीकापुर अस्पतालमा प्रारम्भिक उपचारपछि कोहलपुर मेडिकल कलेज लैजाँदै गर्दा बाटामै उनको मृत्यु भएको हो ।

वीरबहादुरको भने मोटरसाइकलमा घरतर्फ फर्कने बेला हुरीबतासले अनियन्त्रित भई ढल्दा मृत्यु भएको हो । हुरीले अधिकांश स्थानीयको कच्ची घरको छानो उडाएको छ । कैलालीमा ३ हजार घरका छाना उडाएको र कञ्चनपुरमा २ सयभन्दा बढी घरमा क्षति पुगेको अनुमान छ । सडक, विद्युत् सेवा अवरुद्ध भएपछि जनजीवन प्रभावित भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी आसपास क्षेत्रमा गरी ७९ जना घाइते भएका छन् । ४ जनाको अवस्था गम्भीर छ । २ जनालाई नेपालगन्ज र २ जनालाई भारत रिफर गरिएको छ । अन्य घाइतेमध्ये अधिकांश उपचारपछि घर फर्किसकेका छन् ।

‘साढे सात बजेतिर अकस्मात् तीव्र वेगको हुरीबतास चल्न सुरु भएको हो,’ कैलालीका एसपी सुदीप गिरीले भने, ‘बाहिरबाट फर्किने बेला बीच बाटामै हुरीबतासको चपेटामा परी धेरै जना घाइते भए ।’ कैलालीको पूर्वी भेगका टीकापुर, लम्कीचुहा, भजनी तथा जानकी, जोशीपुर बर्दगोरियालगायत गाउँपालिकामा सयौँ घरमा क्षति पुगेको छ । क्षतिको विवरण संकलनमा प्रहरी, रेडक्रसकर्मी र स्थानीयको टोली खटिएको छ ।

कञ्चनपुरमा २ सयभन्दा बढी घरमा क्षति

हुरीले कञ्चनपुरमा २३ जना घाइते भएका छन् । २ सयभन्दा बढी घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी क्षति भीमदत्त नगरपालिका र वेदकोट नगरपालिकामा भएको छ । घाइते पनि बढी यही क्षेत्रका छन् ।

‘घाइतेमध्ये १५ जना सामान्य उपचारपछि घर फर्केका छन्,’ डीएसपी ज्ञानबहादुर विष्टले भने, ‘४ जना उपचारका लागि सेती अञ्चल अस्पताल रिफर भएका छन् ।’

कृष्णपुर नगरपालिकाको रैकवार बिचवामा पनि बढी क्षति भएको प्रजिअ सुशील वैद्यले बताए । उनका अनुसार क्षतिको पूर्ण विवरण आइसकेको छैन । ‘हामी पनि क्षति भएका ठाउँमै छौँ,’ उनले भने, ‘सबै क्षेत्रबाट विवरण संकलन भइरहेको छ ।’ जिल्लाका अधिकांश स्थानमा विद्युत् सेवासमेत अवरुद्ध छ ।

(आजको कान्तिपुर दैनिकबाट)

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung