१४ कार्तिक २०८३, शुक्रबार

 

गाउँमै पुगेर डेढ सयलाई नागरिकता

सरकारी सेवाबाट वञ्चित स्थानीयलाई गाउँगाउँमै सुविधा प्रवाह गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बागलुङले एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । बडीगाड गाउँपालिका–८ को दुर्गम गाउँ रणसिंहकिटेनीको भेडिखोरमा शिविर चलाइएको हो ।

शिविरमा नागरिकता वितरणसँगै विशेषज्ञ डाक्टरहरूद्वारा स्वास्थ्य जाँच, क्षयरोग परीक्षण, महिला तथा स्त्रीरोगसम्बन्धी जाँच, अपांगता परिचयपत्र वितरण, व्यक्तिगत घटना दर्ता, पशुपक्षीको उपचार तथा कृषि परामर्श, फोटोसहितको मतदाता नामावली दर्ता र सामुदायिक प्रहरी साझेदारी कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले जानकारी दिए ।

स्थानीयलाई बडीगाड गाउँपालिका, स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला निर्वाचन कार्यालय, इलाका प्रशासन कार्यालय बुर्तिबाङलगायतले सेवा दिएका थिए ।

सेवा लिनेमा पुरुषभन्दा महिला धेरै

शिविरमा १ सय ४९ जनालाई नागरिकता प्रदान गरिएकोमा महिला बढी छन् । ४४ जना पुरुष र १ सय ५ महिलालाई नागरिकता प्रदान गरिएकोे जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत केशव लामिछानेले बताए ।

नागरिकता प्राप्त गर्नेमा सबैभन्दा बढि उमेरकी ७३ वर्षीया उनीमाया पाइजा छन् । उनले शिविरमा सञ्चालित फोटो सहितको मतदाता नामावलीमा नाम समेत दर्ता गराएकी छन । शिविरमा १ सय ६५ जनाले मतदाता नामावली दर्ता गराए ।

विशेषज्ञ स्वास्थ्य शिविर

शिविरमा १ सय १० जनामा क्षयरोग परीक्षण गरिएकोमा १ जनालाई लक्षण देखिएको छ । शिविरमा महिलाका लागि विशेषज्ञ सेवा साथै अन्यका लागि सामान्य चिकित्सासेवा पनि प्रदान गरिएको थियो । १ सय ५० जनाको सामान्य स्वास्थ्य जाँच गरिएको स्वास्थ्य कार्यालय बागलुङका वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकप्रसाद तिवारीले जानकारी दिए ।

त्यस्तै ६६ जना महिलाको पाठेघर जाँच गरिएको थियो । तीमध्ये तीन जनालाई पाठेघर खस्ने समस्या रहेको र उनीहरूलाई थप उपचारका लागि सल्लाह दिइएको तिवारीले बताए । सेवाग्राहीलाई निःशुल्क औषधि वितरण गरिएको थियो ।

शिविरमा ६ जनालाई अपांगता परिचयपत्रसमेत वितरण गरियो । जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको सामुदायिक प्रहरी साझेदारी कार्यक्रम पनि निकै प्रभावकारी बनेको थियो । सेवाग्राही सबैलाई प्रहरी साझेदारी कार्यक्रमबारे जानकारी गराइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णहरि शर्मा पोखरेलले बताए ।

शिविरमा १ सय ९ घरपरिवारका २ हजार ७२ पशुपक्षीको समेत उपचार गरिएको छ । जसमा १ हजार १ सय ३९ कुखुरा, ७ सय ५३ बाख्रा, १ सय १९ भैंसी, ६९ गाईगोरु र ३ कुकुरको उपचारका लागि औषधि वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले जानकारी दिए ।

सदरमुकाम पुग्न दुई दिन

रणसिंह कटेनी भेगबाट सदरमुकाम पुग्नै दुई दिन लाग्छ । यस्तोमा सबै किसिमका सेवा गाउँमै पाउँदा निकै खुसी लागेको स्थानीय होमबहादुर पाइजाले बताए । ‘नागरिकता बनाउन दुई दिन लगाएर सदरमुकाम धाउनुपर्ने बाध्यता थियो,’ उनले भने, ‘अहिले गाउँमै सेवा पायौं, खर्च पनि बच्यो, समय पनि ।’

स्थानीयले नागरिकतालगायत सेवासुविधा नपाएको गुनासो आएपछि शिविर सञ्चालनका लागि पहल थालेको गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले बताए । सिंहदरबारको अधिकार गाउँ पुगेको हल्ला चले पनि जनताले सेवा नपाएको गुनासो आएको उनको भनाइ छ । शिविर उद्घाटनमा प्रजिअ क्षेत्रीले दुर्गमका जनताको राहतका लागि घुम्ती शिविर आयोजना गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung