संसदीय समितिले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न निर्देशन दिएपछि स्थानीय तहमा रिक्त दरबन्दीको पदपूर्ति अनिश्चित भएको छ । समितिको निर्देशनका सन्दर्भमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वा लोकसेवा आयोगले सोमबार साँझसम्म कुनै निर्णय गरेका छैनन् ।
ओएन्डएम गरी दरबन्दी संख्या यकिनपछि मात्र समानुपातिक समावेशी सिद्धान्तका आधारमा कर्मचारी पदपूर्तिका लागि विज्ञापन गर्न निर्देशन दिएकाले प्रक्रियाले लामो समय लिने निश्चित छ । आयोगको विज्ञापनपछि सोमबारसम्म लोकसेवा कार्यालयहरूमा ७७ हजार ३ सय २५ जनाले आवेदन दिइसकेका छन् ।
संसदीय समितिप्रति संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगले अब के गर्ने भन्नेबारे प्रस्ट पारेका छैनन् । मन्त्रालयका प्रवक्ता सहसचिव भूपाल बरालले समितिको चिठी अबेर मात्रै प्राप्त भएको र त्यो छलफलकै क्रममा रहेको बताए । आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईंले समितिको निर्णयको औपचारिक जानकारी आइनसकेको जनाए । उनले समितिको पत्र प्राप्त भएपछि आयोगको बैठकबाट निर्णय हुने बताए ।
सहसचिव बरालका अनुसार स्थानीय तहमा ६६ हजार दरबन्दी स्वीकृत भएकामा समायोजनपछि २४ हजार रिक्त छन् । ‘कर्मचारी अभावले सेवा प्रवाहमा समस्या भएपछि स्थानीय तहहरूको मागअनुसार कानुनी व्यवस्थाबमोजिम पदपूर्तिको प्रक्रिया बढाइएको हो,’ उनले भने, ‘कर्मचारी भएन, पुगेन, काम प्रभावित भयो भन्ने गुनासोलाई सम्बोधन गर्नैका लागि स्थानीय तहको पदपूर्तिलाई प्राथमिकतामा राखिएको हो ।’
उनले त्यस प्रक्रियामा मन्त्रिपरिषद्को निर्णय समेत जोडिएकाले आगामी प्रक्रियामा पनि मन्त्रिपरिषद्को निर्णय आवश्यक हुन सक्ने उल्लेख गरे । स्थानीय तहको माग र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर विज्ञापन गरिएको सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र सचिव यादव कोइरालाले संसदीय समितिमा जिकिर गरेका थिए । तर, नगरपालिका संघका अध्यक्ष अशोककुमार व्यन्जु कर्मचारी आवश्यकता छ भन्दैमा संविधान नाघेर काम गर्नु उचित नहुने बताउँछन् ।
‘भोक लाग्यो भन्दै चोरेर खान पाइँदैन । कर्मचारी चाहिएकै छ । सक्दो छिटो चाहियो । तर, संविधान र संघीयताको मूल्यमान्यताअनुसार हुनुपर्यो,’ उनले भने, ‘कुन स्थानीय तहलाई कस्तो विशेषताको, कति कर्मचारी चाहियो निर्णय ऊ आफैंले गर्ने हो । यहाँ थुपार्न खोजिएको छ । त्यो गलत हो ।’ उनले समितिले गरेको निर्णय ठीक रहेको भन्दै प्रदेश लोकसेवा आयोगको गठन छिटो हुनुपर्ने र त्यसमार्फत कर्मचारी पदपूर्ति सुल्टो प्रक्रिया हुने बताए ।
संविधानले प्रदेश लोकसेवा आयोग व्यवस्था गरेको छ । स्थानीय तह र प्रदेशमा कर्मचारीको भर्ना प्रदेश लोकसेवामार्फत हुने संवैधानिक प्रावधान छ । प्रदेश लोकसेवा आयोग गठन नभएसम्म स्थानीय र प्रदेशले माग गरे केन्द्रीय लोकसेवाले विज्ञापन गरेर पदपूर्ति गरिदिने समायोजन ऐनको व्यवस्थाअनुसार यतिबेला प्रक्रिया अघि बढाइएको हो । विज्ञापन समानुपातिक समावेशी नदेखिएपछि विवादमा तानियो ।
(आजको कान्तिपुर दैनिकबाट)



















































































































































































































