१४ कार्तिक २०८३, शुक्रबार

 

त्रिवि सेवा आयोगको परीक्षा : केर्दै, अंक थप्दै

त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीले ‘बदनियतपूर्वक’ कानुनविपरीतका क्रियाकलाप गरेर आफन्तलाई उत्तीर्ण गराएको भेटिएको छ । उच्च स्रोतका अनुसार प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशनसम्ममा उनीहरूले अस्वाभाविक चलखेल गरेका हुन् ।

सेवा आयोगका पदाधिकारीहरूले प्रश्नपत्र निर्माणदेखि उत्तरपुस्तिका कोडिङ, परीक्षण र नतिजा प्रकाशनका क्रममा लोकसेवा आयोगका पदाधिकारीलाई संलग्न गराएनन् । त्रिवि सेवा आयोगमा लोकसेवा आयोगका सदस्य पदेन सदस्य रहने व्यवस्था छ । हाल ब्रह्मदेव राय प्रतिनिधिका रूपमा छन् । उनलाई नै ‘बाइपास’ गरी परीक्षा सञ्चालन गरेको भेटिएको हो ।

उत्तरपुस्तिकामा तीन पटकसम्म केरमेट गरिएका छन् । ‘पहिले ३२ नम्बर दिएको विद्यार्थीको उत्तरपुस्तिका रि–चेकिङका नाममा ४० नम्बर दिइएको छ,’ स्रोतले भन्यो, ‘फेरि केरमेट गरेर ५५/६० नम्बर दिइएको छ । १० वटाभन्दा बढी उत्तरपुस्तिकामा यस्तै समस्या छ ।’ उत्तरपुस्तिका परीक्षणका क्रममा हुने सम्परीक्षणमा सामान्य फेरबदल हुने भए पनि परीक्षकले दिएकै अंक केरमेट र फेरबदल गर्नु गम्भीर त्रुटि भएको हो । ‘यसरी काटेर नम्बर बढाइएका उत्तरपुस्तिका वाहक नै पछि उत्तीर्ण भएका छन्,’ सेवा आयोग स्रोतले भन्यो, ‘उत्तरपुस्तिका परीक्षणका क्रममा आधारभूत गोप्यताको सिद्धान्त पनि पालना भएको छैन ।’

आफ्नै हात, जगन्नाथ

आयोग स्रोतका अनुसार प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशनसम्म हरेक पटक प्रक्रिया मिचिइएको छ । ‘कसरी प्रश्नपत्र बनाउने, कोडिङमा कसरी सुरक्षा गर्नेलगायत काममा लोकसेवा प्रतिनिधिको अनिवार्य उपस्थिति हुनुपर्थ्यो,’ स्रोतले भन्यो, ‘मिलेमतोमा सबै काम गरे, अन्त्यमा लोकसेवाका प्रतिनिधि बोलाए ।’

सेवा आयोगका पदाधिकारीले लोकसेवाका प्रतिनिधिलाई बेवास्ता गर्दै सबैमा एकपटक हस्ताक्षर गराउँथे । भत्ताको लोभले लोकसेवाका प्रतिनिधिले हस्ताक्षर गर्थे । यसपटक विवाद सतहमा आएपछि लोकसेवा सदस्य ब्रह्मदेव रायले हस्ताक्षर गर्न मानेनन् । स्थगित गर्नुको साटो हतारमा लोकसेवाका प्रतिनिधिबिनै अन्तर्वार्ता गरिएको थियो ।

लोकसेवाका प्रतिनिधिबिना त्रिवि आयोग अध्यक्ष शर्मा, सदस्य चिन्तामणि पोखरेल र सदस्य सचिव परशुराम कोइरालाले मनोमानी गरेर परीक्षा सञ्चालन गरे । अख्तियारले परीक्षा पद्धतिमाथि छानबिन थालेपछि सेवा आयोगले शाखा अधिकृतको अन्तर्वार्ता गर्न सकेको छैन । ‘लोकसेवा प्रतिनिधिले प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका कोडिङ र पुनःपरीक्षणमा असहमति जनाउनुभयो,’ स्रोतले भन्यो, ‘लिखित परीक्षाको नतिजामा पनि हस्ताक्षर गर्नु भएको छैन ।’

त्रिवि सेवा आयोगका पदाधिकारी, पहुँचवाला प्राध्यापक, कर्मचारी र क्याम्पस प्रमुखका आफन्त पास भएसँगै परीक्षाको विश्वसनीयतामा प्रश्न उठेको थियो । ‘सेवा आयोगको परीक्षामा केबल औपचारिकताका लागि मात्र कोडिङ गरिन्छ,’ लोकसेवाका एक सदस्यले भने, ‘परीक्षामा त्रिवि सेवा आयोगकै कर्मचारीले सरसल्लाहबिनै मनोमानी गर्दै आएका छन् । नीतिगत निर्णय गर्नुपरे मात्र लोकसेवालाई बोलाइन्छ, अन्तिममा हस्ताक्षर गरेर साक्षी राख्न खोजिन्छ ।’

त्रिवि सेवा आयोगमा प्रतिनिधित्व गर्दै आएका लोकसेवा सदस्य रायले विश्वसनीयतामा प्रश्न उठेपछि आफू परीक्षाबाट अलग रहेको जनाए । ‘पहिलेदेखि परीक्षाको मर्यादा राख्न र लापरबाही नगर्न मैले आग्रह गर्दै आएको थिएँ,’ उनले भने, ‘अख्यितारले नै छानबिन थालेपछि त्रिवि आयोगको कार्यालय गएको पनि छैन, परीक्षाको प्रक्रियाबाट पूर्ण रूपमा अलग बसेको छु ।’

( आजको कान्तिपुर दैनिकबाट )

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung