बरेङ गाउँपालिकाले विद्यार्थीलाई तयारी खानेकुरा तथा लागूपदार्थ सेवन न्यूनीकरण र किशोरी प्रजनन स्वास्थ्यशिक्षासम्बन्धी तालिम दिएको छ । स्थानीय सर्वोदय माध्यमिक विद्यालयमा बुधबार आयोजित तालिममा कक्षा ८ देखि १२ सम्मका १ सय ५१ विद्यार्थी सहभागी थिए ।
समाजमा बढ्दै गइरहेको लागूपदार्थ प्रयोग न्यूनीकरण, महिनाबारीमा किशोरी तथा महिलालाई हेर्ने समाजको नकारात्मक दृष्टिकोणमा परिवर्तन ल्याउने उद्देश्यले तालिम आयोजना गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाप्रमुख पदमबहादुर पुनले जानकारी दिए ।
विद्यालयतहका किशोरकिशोरीमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्न गाउँपालिकाका सबै माध्यमिक विद्यालयमा तालिम सञ्चालन गरिएको पुनले बताए । मंगलबार हुग्दीशिरको भृकुटी माविमा तालिम सम्पन्न भएको थियो ।
तालिममा सहजीकरण गर्दै पुनले महिलाहरू महिनाबारी हुँदा समाजले हेर्ने दृष्टिकोण र व्यवहार विभेदपूर्ण रहेको बताए । महिनाबारीका बेला परिवार सदस्यसँग छोइन नहुने, पूजाआजा गर्न नहुने, खाना पकाउन नहुनेदेखि छाउगोठमा छुट्टै बस्नुपर्नेजस्ता परम्परा अज्ञान र अन्धविश्वासको उपज रहेको उनको भनाइ छ ।
महिनाबारी एक प्राकृतिक प्रक्रिया भएकाले समाजमा यसबारे चेतना जगाउनुपर्नेमा पुनको जोड थियो । महिनाबारी हुँदा सेनेटरी प्याड प्रयोग, दैनिक सरसफाइलगायतमा सावधानी अपनाउन उनले आग्रह गरे ।
त्यस्तै कार्यक्रममा सहजीकरण गर्दै इलाका प्रहरी कार्यालय बरेङडाँडाका प्रहरी निरीक्षक नरेन्द्रजंग कार्कीले युवा पुस्ता धुम्रपान, मद्यपान र लागुऔषधको कुलतमा फस्नाले उनीहरूको व्यक्तिगत जीवन बिग्रने मात्र नभई सामाजिक रूपमा झैझगडा, बलात्कारजस्ता आपराधिक घटना बढेको बताए ।
तालिममा सुआहारा कार्यक्रमकी फिल्ड सुपरभाइजर हरिमाया थापाले विद्यालयमा अध्ययनरत विद्यार्थीमा चाउचाउ, कुरकुरेजस्ता जंकफुड नियमित सेवन गर्ने बानीले विभिन्न रोग निम्त्याउने बताइन् । यसको दीर्घकालीन असरबारे चेतना फैलाउनुपर्नेमा उनको जोड थियो ।



















































































































































































































