१ जेष्ठ २०८२, बिहीबार

 

कुस्मामा डेढ सयलाई रोजगारी

कुस्मा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालू वर्ष झन्डै डेढ सय युवालाई रोजगारी प्रदान गरेको छ । बेरोजगार युवालाई कम्तीमा एक महिना रोजगारी उपलब्ध गराउने सरकारको घोषणा छ ।

नगरका १४ वटै वडा प्रत्येकमा कम्तीमा ७ देखि १४ जनाका दरले १ सय ५० जनालाई रोजगारी प्रदान गरिएको मेयर रामचन्द्र जोशीले जानकारी दिए । उनका अनुसार चालू वर्ष उक्त कार्यक्रमका लागि आएको २५ लाख रुपैयाँमध्ये ७० प्रतिशत तलबभत्ता र ३० प्रतिशत सामग्री खरिदमा खर्चिइँदै छ । मजदुरका लागि पोसाक, गल, घन, गैंची, बेल्चालगायत सामान खरिद गरेर हस्तान्तरण गरिएको जोशीले बताए ।

नियुक्त कर्मचारीलाई दैनिक ६ सय १७ रुपैयाँ पारिश्रमिक उपलब्ध गराइँदै छ । सरकारी मापदण्डमा ५ सय ७ रुपैयाँ तोकिए पनि जिल्लामा हाल कायम रहेको दररेटअनुसार भुक्तानी गर्न लागिएको हो । नयाँ कामदारलाई सडक, पदमार्ग, नहर, कुला सफाइ, मर्मतलगायत वार्षिक बजेटमा तोकिएका कार्यक्रममै परिचालन गरिने प्रमुख प्रशासकीय अधिकृत हरि पंगिनीले बताए ।

यसैबीच उक्त कार्यक्रम शुक्रबार शुभारम्भ गर्दै पहिलो चरणमा वडा १ देखि ९ सम्ममा छनोट भएका कामदारलाई प्रशिक्षणसहित आवश्यक सामग्री र पोसाक वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung