१४ कार्तिक २०८३, शुक्रबार

 

समाजसेवी शर्माको स्मृतिमा छात्रवृत्ति र सम्मान

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले सामाजिक सेवामा राजनीतिक भागबन्डा गर्न नहुने बताएका छन् । बागलुङको पैयुँपाटास्थित हेमराज शर्मा प्रतिष्ठानको छात्रवृत्ति वितरण एवं सम्मान कार्यक्रममा उनले समाज र समुदायको विकासका निम्ति सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

धौलागिरि क्षेत्रकै अग्रज समाजसेवी शर्माको तेस्रो स्मृति दिवसका अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

पाण्डेले शर्माको योगदान धौलागिरिबासीले कहिलै भुल्न नहुने बताए । राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका पाण्डेले केपी ओलीको सरकारले दुई तिहाइको दम्भ देखाएको आरोप लगाए । ‘प्रधानमन्त्रीले सरकार एक्लै चलाउन खोज्नुभएको छ,’ उनले भने, ‘उहाँको यो दम्भ अब धेरै बेर टिक्नेवाला छैन ।’ कांग्रेसको सहयोगविना कुनै पनि काम पुरा नहुने उनको भनाइ थियो ।

कार्यक्रममा धौलागिरिका वरिष्ठ समाजसेवी डा. भूपेन्द्रबहादुर खड्का, गण्डकी प्रदेश सांसद ललितकला गुरुङ, नेपाली कांग्रेस बागलुङका सभापति दीपेन्द्रबहादुर थापा, समाजसेवी डिल्लीप्रसाद शर्मा, त्रिभुवन माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष दीनानाथ शर्मा, नेकपाका उमानाथ शर्मा, नेपाली कांग्रेसका सभापति चन्द्रबहादुर खत्रीलगायतले शर्माले धौलागिरि क्षेत्रको सामाजिक विकासमा पु¥याएको योगदान युवा पुस्ताका लागि प्रेरणास्रोत भएको बताए । शर्मा धौलागिरि क्षेत्रकै शिक्षाप्रेमी एवं समाजसेवीका रूपमा परिचित थिए ।

कार्यक्रममा म्याग्दीका वरिष्ठ अधिवक्ता एवं कांग्रेसका पूर्वसभापति भूपेन्द्रबहादुर खड्कालाई सम्मान गरिएको थियो ।

त्यसै गरी शर्माका समकालीन सहयात्रीका रूपमा सहयोग गर्ने १६ जना समाजसेवीलाई पनि सम्मान गरियो । जसमा बानपा–१३, पैयुँपाटा, सातबिसेका पण्डित भवदत्त उपाध्याय, डण्डापानी उपाध्याय, बडहरेका नारायणप्रसाद ढकाल, सिम्लेका भवानीप्रसाद शर्मा, सल्यानका आइते साकी, लहरेबरका शशिधर जैसी, महेश्वर आचार्य, डाँडाखेतका दुर्गादत्त रखाल, काभ्राबोटका भूमीश्वर पौडेल, घडेरीका महेश्वर रिजाल र बास्कोटका लक्ष्मीकान्त रिजाल छन् ।

त्यसै गरी मुसुराबारीका खडकसिंह परियार, बानपा–१४ नारायणस्थानका हरिकुमार श्रेष्ठ, देवकान्त पौडेल, बानपा–१२ अमलाचौरका टुकनाथ शर्मा र खगेन्द्र पौडेललाई सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष किरणराज पौडेलले जानकारी दिए ।

त्यस्तै प्रतिष्ठानले विभिन्न विद्यालय र क्याम्पसमा गरिब, जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । जसमा जनमत माविका किशोर लामिछाने र प्रतीक्षा रिजाल, त्रिभुवन माविका पवित्रा नेपाली, रोशन परियार छन् । त्यस्तै धौलागिरि बहुमुखी क्याम्पसमा सर्वोकृष्ट अंक ल्याउने प्रेम रिजाल, बलेवा पैयुँपाटा बहुमुखी क्याम्पसबाट सर्वोकृष्ट अंक ल्याउने सावित्रा शर्मालाई सम्मान तथा छात्रवृत्ति प्रदान गरिएको थियो । त्यसैै गरी बलेवा नारायणस्थानमा रहेको गणेश माविमा अध्ययनरत तीन विद्यार्थीको पढाइ खर्च प्रतिष्ठानले जिम्मा लिएको छ ।

कार्यक्रममा त्रिभुवन माविमा अध्ययनरत अन्य १० विद्यार्थीलाई पोसाकसमेत वितरण गरिएको छ । कार्यक्रम हेमराज प्रतिष्ठानका अध्यक्ष किरणराज पौडेलको अध्यक्षता, पूर्वमहासचिव चूडामणि शर्मा पौडेलको स्वागत र सचिव कृष्ण पौडेलको सञ्चालनमा भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung