सर्वोच्च शिखर सगरमाथा मापन टोलीका सदस्य रविन कार्की र पत्रकार खेमराज गौतम सम्मानित भएका छन् ।
बागलुङ नगरपालिका–८ सिगानामा जन्मेर राष्ट्रिय छवि कायम गर्न सफल भएको भन्दै सोही वडास्थित सृजनशील सामुदायिक आमा समूहले उनीहरूलाई सम्मान गरेको हो ।
नेपालले पहिलोपटक गर्न लागेको सगरमाथाको उचाई मापनमा सहभागी भई कार्कीले समग्र जिल्लालाई नै गौरवान्वित बनाएको र गौतमले पत्रकारितामार्फत गाउँको विकास र प्रवर्द्धनमा भूमिका खेलेकाले सम्मान गरिएको समूहकी अध्यक्ष डिलकुमारी कार्कीले बताइन् ।
कार्यक्रममा कार्कीले सगरमाथा आरोहण क्रममा भोगेका दुःखपीडालाई जन्मस्थानको सम्मानले बिर्साएको प्रतिक्रिया दिए । यस्तै पत्रकार गौतमले गाउँको प्रवर्द्धनका लागि खेल्दै आएको भूमिका अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।
बागलुङ नगरपालिका–८ का वडा सदस्य प्रेमबहादुर जिसी, भीमबहादुर कार्कीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम समूह अध्यक्ष कार्कीको अध्यक्षता, गोविन्दप्रसाद गौतमको स्वागत तथा समाजसेवी भद्रबहादुर कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।
सम्मानित व्यक्तित्व कार्की र गौतम सहपाठीसमेत हुन् । नापी विभागमा नापी अधिकृतका रूपमा कार्यरत कार्कीसहितको टोलीले जेठ ८ गते सगरमाथा चुचुरोमा पुगी उचाइको तथ्यांक संकलन गरी फर्किएको थियो ।
यस्तै जिल्लामा लामो समयदेखि क्रियाशील गौतम धौलागिरि जागरण दैनिक तथा अग्रसर साप्ताहिकका सह–सम्पादक र राष्ट्रिय समाचार समितिका लागि बागलुङ जिल्लाको समाचारदाताका रूपमा कार्यरत छन् ।




















































































































































































































