१३ कार्तिक २०८३, बिहीबार

 

वैदेशिक रोजगार : ११ महिनामा ५०२ को मृत्यु

वैदेशिक रोजगारमा गएकाहरूको ज्यान गुमाउनेको संख्या उच्च रहेको छ । मलेसिया, साउदी अरेबिया र कतारलगायत देशमा पछिल्ला ११ महिनामा श्रमको सिलसिलामा ५ सय २ जनाले ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डको तथ्यांक छ । मलेसिया लगायतका यी खाडी मुलुक नेपालका लागि वैदेशिक रोजगारको मुख्य गन्तव्य मानिएको छ ।

वैदेशिक रोजगारका लागि बिदेसिने कुल संख्याको ८६.४२ प्रतिशत कामदार मलेसिया, कतार, साउदी अरेबिया र यूएईमा छन् । तर यिनै मुलुकमा सबैभन्दा धेरै संख्यामा कामदारले ज्यान गुमाउने गरेको वैदेशिक रोजगार बोर्डका प्रवक्ता दीनबन्धु सुवेदी बताउँछन् ।

बोर्डको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५–७६ को जेठ महिनासम्म वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर करार अवधिभित्र ज्यान गुमाउनेको संख्या ६ सय ६६ रहेको छ । गत साउनदेखि जेठ महिनासम्म सबैभन्दा धेरै मलेसियामा २ सय ६ जना कामदारले ज्यान गुमाएको बोर्डले जनाएको छ । यस्तै साउदी अरेबियामा १ सय ७७ र कतारमा १ सय १९ कामदारले ज्यान गुमाएको तथ्यांक बोर्डसँग छ । पछिल्ला वर्षहरूमा यो दर बढदो रहेको सुवेदीले बताए ।

पछिल्ला तीन वर्षको तथ्यांक केलाउने हो भने विदेशी भूमिमा ज्यान गुमाउने कामदार आर्थिक वर्ष २०७२–७३ मा ८ सय १६ छन् । आर्थिक वर्ष २०७३–७४ मा यो संख्या थोरै घटेर ७ सय ५६ पुगेको भए पनि आर्थिक वर्ष २०७४–७५ मा यो संख्या बढेर पुनः ८ सय २१ पुगेको छ । यी मुलुकमा जाने अधिकांश जनशक्ति अदक्ष हुने हुँदा अरूको तुलनामा यी मुलुकमा मृत्यु हुनेको संख्या बढी रहेको सुवेदीले बताए । \

‘नेपाली श्रमिक विदेशमा जोखिमयुक्त काम गर्न बाध्य हुन्छन्, तर त्यो अनुसारको सावधानी अपनाउन प्रशिक्षण दिने काम भएको छैन,’ उनले बताए ।

नेपालले अहिले १ सय ७२ मुलुकसँग श्रम स्वीकृति लिई संस्थागत एवं व्यक्तिगत रूपमा कामदार पठाइरहेको छ । आर्थिक वर्ष २०७४–७५ मा ३ लाख १२ हजार ७ सय ४९ नेपाली श्रम स्वीकृति लिएर बिदेसिएको रोजगार विभागको तथ्यांक छ ।

विभागका अनुसार आर्थिक वर्ष २०७४–७५ मा कतारमा १ लाख ८३ हजार ५ सय ४२, साउदी अरबमा १ लाख ८ हजार ४ सय १४, मलेसियामा १ लाख ३७ हजार ३ सय ११ छन् भने यूएईमा १ लाख १४ हजार ९ सय ४१ रोजगारीका लागि गएका छन् ।

(आजको कान्तिपुर दैनिकबाट)

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung