मुसिकोट नगरपालिकाले स्थानीय निर्वाचनयता स्वास्थ्य क्षेत्रमा फड्को मारेको जनाएको छ । यो दुई वर्षमा चौबीसै घण्टा सेवा दिने गरी अत्याधुनिक टेबलसहित बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको भन्दै नगरले प्रमुख उपलब्धिका रूपमा अघि सारेको छ ।
बामीटक्सारमा सम्पन्न नगरको नीति तथा कार्यक्रमको मध्यावधि समीक्षा एवं सुझाव संकलन कार्यक्रममा यस्तो दाबी गरिएको हो । ‘कृषि, पर्यटन, पूर्वाधार र रोजगार, समृद्ध मुसिकोट नगरपालिकाको आधार’ भन्ने नारासहित सुरु कार्यक्रममा विषयगत कार्यालयका प्रमुखहरूले हालसम्मको प्रगति तथा भावी योजना प्रस्तुत गरेका थिए ।
कार्यालयका अनुसार सबै बर्थिङ सेन्टरमा सोलार सिस्टमको व्यवस्था गरिएको छ । महिला स्वास्थ्य स्वयंसेविकालाई प्रतिबैठक जनही ५ सय रुपैयाँ यातायात खर्च व्यवस्था गरिएको छ ।
वडा नं. १ को थामडाँडा र ८ को बामी मैदानमा सहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । बामीटक्सार स्वास्थ्य चौकीमा ल्याबसेवा स्थापना गरिएको छ । नगरले विभिन्न समयमा विशेषज्ञ डाक्टरमार्फत निःशुल्क स्वास्थ्य परीक्षण सेवा दिँदै आएको छ । आगामी वर्ष ८४ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्यसेवा प्रदान गर्ने योजना बनाएको छ ।
नगरले २ वर्षमा १५ सयभन्दा बढी कृषकलाई व्यावसायिक कृषि तथा पशुपालनतर्फ आकर्षित गराउन अनुदानसहित सामग्री वितरण गरेको छ । आगामी वर्ष ४० हजार कफी बिरुवा लगाउने, २१ हजारभन्दा बढी फलफूलका बोट लगाउने, ३ सयभन्दा बढी प्लास्टिक टनेल निर्माण गर्ने, ३० रोपनी क्षेत्रमा अलैंची बगैँचा बनाउने, ५ सय घरमा करेसाबारी, ५ सय मौरीघार वितरणलगायत योजना बनाएको छ ।
शिक्षातर्फ सबै विद्यालयमा विद्युतीय हाजिरी सुरु गर्दै सोही आधारमा तलब निकासा गर्ने कार्यक्रम अगाडि सारेको छ । नगरपालिकाले पाँचवटा विद्यालय समायोजन गर्दै २३ शिक्षक दरबन्दी मिलान गरेको छ भने प्राविधिक धार सञ्चालन गर्ने विद्यालयलाई ५० लाख अनुदान वितरण गरेको छ ।
खानेपानी सरसफाइतर्फ ८ सय ५३ परिवारमा एकघर एक धारा कार्यक्रम सम्पन्न भएको र २ हजार ३ सय २२ घरमा धारा पु¥याउने योजना चलिरहेको कार्यक्रममा बताइयो ।
संस्कृति प्रवद्र्धन र पर्यटन विकासमा पनि नगरपालिकाले काम गरेको जनाएको छ । स्वाँरा होमस्टेलाई व्यवस्थित, मालिका मन्दिर, मुसिकोट दरबार, सालिमे दहलगायतलाई संरक्षण गरी पर्यटन प्रवद्र्धनमा सहयोग गरेको समीक्षामा उल्लेख छ । जातीय पहिचान बोकेका विभिन्न नाच तथा भाषा संरक्षण गर्ने गरिएको जनाइएको छ ।
कार्यालयका अनुसार २ वर्षको अवधिमा नगरभित्र ५५ किलोमिटर मोटरबाटो ग्राभेल भएको छ भने १ सय ६१ किलोमिटर थप भएको छ । पूर्वाधारतर्फ नै १४ किलोमिटर पक्की र १८.५ किमि कच्ची कुलो बनेको छ । नगरभित्र ९ वटा महिला सामुदायिक भवन निर्माण भएका छन् । ४ सय १२ घरका खरका छाना जस्तापाताले विस्थापन गरिएको छ । मुसिकोट ‘उज्यालो नगर’ घोषित भएको छ । २ सय ७० ह्युमपाइप राखेर ढल व्यवस्थित गरिएको छ ।
वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि नगरस्तरीय वन नर्सरी स्थापना गरी वृक्षरोपण तथा बडीगाड र निस्ती खोलाका विभिन्न स्थानमा तटबन्ध कार्यक्रम चलाइएको छ ।
त्यस्तै चालू वर्षमा न्यायिक समितिले १० वटा मुद्दा फैसला तथा मिलापत्र गरेको छ । ४ वटा मुद्दा प्रक्रियामा छन् । नगरले हालसम्म २० वटा ऐन, २४ वटा नियमावली तथा कार्यविधि तयार गरिएको जनाएको छ ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका नगर संयोजक खुमबहादुर थापाले नगरले प्रभावकारी काम गरिरहेको बताए ।
नेपाली कांग्रेसका नगर सभापति सुदर्शन शाक्यले योजना सञ्चालन गर्दा उपभोक्ता समितिमा राजनीतिक समावेशीकरणलाई ध्यान दिन र प्रतिपक्षले पनि अपनत्व लिन सक्ने गरी कार्य सञ्चालन गर्न आग्रह गरे ।
प्रमुख प्रतिपक्ष कांग्रेसले गठन गरेको मुसिकोट छाया सरकारका प्रमुख झविलाल भण्डारीले योजना खण्डीकरण नगरी एकीकृत ढंगले सञ्चालन गर्न सुझाव दिएका थिए ।
अपांगता परिचयपत्र वितरणमा केहीले खाइपाई आएको सुविधा काटिएको भन्दै असन्तुष्टिसमेत प्रकट गरिएको थियो । सहभागीहरूले आगामी नीति तथा कार्यक्रमका लागि विभिन्न सुझाव दिएका थिए ।
छलफलपछि नगरप्रमुख सोमनाथ सापकोटाले आएका सुझाव आगामी नीति तथा कार्यक्रममा समेटेर लैजाने प्रतिबद्धता जनाएका थिए । आर्थिक समितिका संयोजकसमेत रहेका ७ नम्बर वडाध्यक्ष प्रकाश काफ्लेले कार्यक्रमको उद्देश्यबारे बताएका थिए ।



















































































































































































































