१३ कार्तिक २०८३, बिहीबार

 

जनप्रतिनिधि सम्मानित

बडीगाड गाउँपालिका–३ तारञ्जास्थित कञ्चनापुर आधारभूत विद्यालयले जनप्रतिनिधिलाई सम्मान गरेको छ । विद्यार्थीलाई छात्रवृत्ति तथा पुरस्कार वितरणका लागि आयोजित कार्यक्रममा वडा नं. ३ का निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको हो ।

कार्यक्रममा वडाध्यक्ष तथा बडीगाड गाउँपालिकाका सामाजिक तथा शिक्षा विभागप्रमुख खड्क पुनले अब शिक्षक अभावमा कक्षा नरोकिने बताए ।

शैक्षिक गुणस्तर वृद्धिका लागि दरबन्दी मिलानको काम भइरहेको उनले जनाए । साबिक सिसाखानी गाविस भौगोलिक रूपमा विकट भएकाले त्यहाँ मोटरबाटोलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको पुनले जानकारी गराए । विद्यालय व्यवस्थापन समिति सदस्य दधिराम विक, शिक्षक–अभिभावक संघ अध्यक्ष फुलमाया विकलगायतले पनि धारणा राखेका थिए ।

कार्यक्रममा छात्रा, दलित तथा अन्य गरी प्रतिविद्यार्थी ४ सयको दरले ९५ जनालाई ३८ हजार रुपैयाँ वितरण गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष धनप्रसाद शेरचनको अध्यक्षता, शिक्षक मञ्जु घर्तीको स्वागत मन्तव्य तथा प्रधानाध्यापक पुनाराम गिरीको सञ्चालनमा भएको थियो ।

अधिकांश दलित समुदायका विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयमा तीन शिक्षकको दरबन्दी छ । १ सय २३ विद्यार्थी छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung