नेपाल पत्रकार महासंघ बागलुङ शाखाद्वारा प्रदान गरिने ‘नन्द–हरि सिर्जनशील पत्रकारिता पुरस्कार’बाट बागलुङका दुई पत्रकार पुरस्कृत भएका छन् । विसं २०७४ को पुरस्कार नेपाल टेलिभिजनका बागलुङ समाचारदाता किरण आचार्य र विसं २०७५ को पुरस्कार ढोरपाटन दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहरालाई बुधबार प्रदान गरिएको हो ।
पत्रकारलाई पुरस्कार हस्तान्तरण गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले पुरस्कारले पत्रकारलाई नैतिकवान् बनाउन सहयोग गर्ने बताए । उनले मिडिया काउन्सिल विधेयक सच्याएर लैजाने भन्दै पत्रकारलाई स्वतन्त्र ढंगले कलम चलाउन आग्रह गरे ।
साबिक धौलागिरि अञ्चललाई कार्यक्षेत्र बनाई लामो समय सक्रिय पत्रकारमध्येबाट ज्येष्ठता, क्रियाशीलता तथा निरन्तरताका आधारमा आचार्य र बोहरालाई छनोट गरी पुरस्कार प्रदान गरिएको छनोट समितिका संयोजक राजेशचन्द्र राजभण्डारीले बताए ।
पत्रकार महासंघ बागलुङ शाखाका पूर्वअध्यक्ष एवं पूर्व केन्द्रीय सदस्य हरिनारायण गौतम र उनको परिवारले आमा नन्दकली र बुबा हरिलालको सम्झनामा २०६६ सालमा उक्त पुरस्कार स्थापना गरेका हुन् । लामो समयदेखि पत्रकारितामा सक्रिय व्यक्तिलाई हौसला प्रदान गर्न आमाबुबाको सम्झनामा पुरस्कार स्थापना गरेको हरिनारायणले बताए ।
उक्त पुरस्कार बर्सेनि साबिक धौलागिरि अञ्चलका एक पत्रकारलाई प्रदान गरिँदै आएको छ । पुरस्कारको राशि जनही रू. १५ हजार १ सय ५५ छ । महासंघ बागलुङ शाखाको १९ औँ स्थापना दिवस (असार २५) का अवसरमा पुरस्कार प्रदान अध्यक्ष दिल शिरीषले जानकारी दिए ।
यसअघि उक्त पुरस्कारबाट पर्वतका पत्रकार दुर्गाप्रसाद शर्मा, ओमप्रसाद घायल, म्याग्दीका घनश्याम खड्का, धु्रवसागर शर्मा, बागलुङका राजेशचन्द्र राजभण्डरी, ज्ञानेन्द्र गौतम, कोपिला कँडेल पुरस्कृत भइसकेका छन् ।




















































































































































































































