१४ कार्तिक २०८३, शुक्रबार

 

दुर्व्यसनविरुद्ध लाग्ने भट्टको प्रतिबद्धता

बागलुङमा हालै सरुवा भएर आएका प्रहरी उपरीक्षक नवराज भट्टले लागू पदार्थ नियन्त्रणलाई प्राथमिकता दिने बताएका छन् ।

आइतबार आइपुगेका उनले सोमबार पत्रकार सम्मेलन गरी नियमित कामबाहेक युवालाई दुर्व्यसनबाट जोगाउने अभियानलाई निरन्तरता दिने जनाए । अभियान सफल पार्न सामाजिक अगुवाको पनि साथ चाहिने उनको भनाइ छ ।

भट्टका अनुसार लागू पदार्थविरुद्धको अभियान सञ्चालन भएको भनिए पनि अहिलेसम्म जिल्लाको वास्तविक तथ्यांक नहुँदा काम गर्न कठिन छ । पिसाब परीक्षणबाट युवा दुर्व्यसनमा फसे-नफसेको पत्ता लगाउन सकिने भन्दै उनले यसका लागि बजेट आवश्यक रहेकोमा जोड दिए ।

यसअघिका जिल्ला प्रहरीप्रमुखहरूले जसरी आफूले कुनै नारा दिन नचाहेको उनले प्रस्ट्याए । ‘मैले नारा दिनेभन्दा केही सुधार गरेर देखाउने भन्नेमा छु,’ उनले भने, ‘मेरो कार्यकालमा व्यवस्थापकीय सुधारदेखि शान्तिसुरक्षाको स्थितिमा परिवर्तन भएको देख्नुहुनेछ ।’

गण्डकी प्रदेश प्रहरी कार्यालयको प्रवक्ता भएर आएका भट्टले सूचनाप्रविधिलाई चुस्त बनाएर समयमा सञ्चारमाध्यमसम्म पुग्ने काममा सुधार ल्याउने पनि बताए । ‘हरेक घटनामा प्रहरी पुग्ने होइन, सही सूचनामा नागरिकले साथ दिने हो,’ उनले भने, ‘प्रहरीले घटनाको तत्काल छानबिन र अनुसन्धान गर्ने काममा भने कमी गर्दैन ।’ उनले प्रहरीको आन्तरिक सुशासनदेखि नागरिकका काम आएकै दिन सकिदिने व्यवस्था थालेको बताए ।

महिला संवेदनशीलतासँग जोडिएर आउने मुद्दामा प्रहरी सक्रियतापूर्वक लाग्ने भट्टले जनाए । ‘कतिपय मुद्दा दर्ता भएपछि फिर्ता भएको देखिएका छन्,’ उनले भने, ‘प्रहरीले पूर्वाग्रही भएर कसैको मुद्दा नहेर्ने अभियान छ ।’ मानवअधिकार रक्षाका लागि पनि प्रहरी सक्रिय रहने भन्दै उनले पक्राउ परेको व्यक्तिलाई कुटपिट गर्ने यसअघिको चलन हटिसकेको बताए ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दिल शिरीषले जिल्लाको भौगोलिक अवस्था, लागू पदार्थ, बालविवाहलगायत चुनौतीबारे भट्टलाई जानकारी गराएका थिए । भट्टले शान्तिसुरक्षा चुस्त बनाउन अझै केही चौकी थप्नुपर्ने देखिए पनि जनशक्ति अभाव रहेको जनाए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung