बडिगाड महिला तथा बालबालिका सशक्तीकरण केन्द्रको आयोजना तथा बडिगाड गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित ५० दिने लोकसेवा तयारी कक्षा मंगलबार समापन गरिएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसालले काम गर्न असम्भव केही नभएको भन्दै सिकाइको सदुपयोग गर्न सहभागीलाई आग्रह गरे ।
बडिगाड गाउँपालिकाका प्रमुख मेहरसिंह पाइजाले तालिमबाट निजामती सेवामा प्रवेश गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे । प्रशिक्षकसमेत रहेका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले सहभागीलाई थप अध्ययन गर्न आग्रह गर्दै प्रथम पत्रमा नाम निकाल्नेलाई सहजीकरण गर्ने बताएका थिए ।
कार्यक्रममा वडा नं. २ का कार्यवाहक अध्यक्ष हिमा खरेल, वडा नं. ३ का अध्यक्ष खड्क पुन, सहभागीका तर्फबाट माया केसी, गीता पोखरेलले धारणा राखेका थिए ।
कार्यक्रम अध्यक्ष विना थापाको अध्यक्षता, भोला आचार्यको स्वागत मन्तव्य तथा सचिव माया केसीको सञ्चालनमा भएको थियो । प्रत्येक वडाबाट ५ जनाको दरले ५० जनालाई तालिम दिइएको हो ।
तालिममा ४ लाख ३९ हजार ४ सय रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ ।



















































































































































































































