गण्डकी प्रदेशसभा सदस्य दिलमाया रोका दीपाले संघीयता जनताको समृद्धि स्थापित गर्ने मार्ग भएको बताएकी छन् ।
साउने संक्रान्ति मेला व्यवस्थापन समिति, ताराखोला गाउँपालिका–३ हिलको २८औं वार्षिकोत्सवमा उनले तीन तहका सरकारले जनताका समस्या, सम्भावना र चुनौती उजागर गर्न सहज हुने भन्दै कार्यान्वयनमा जान संघीयताले सहज बनाएको जनाइन् ।
‘बजेटले मात्रै विकास र समृद्धि हुँदैन, सुशासन, पारदर्शिता र व्यवस्थापकीय पक्ष पनि बलियो र प्रभावकारी हुनुपर्छ,’ उनले भनिन्, ‘जनताले हरेक योजना र विकास निर्माणमा निगरानी राख्नुपर्छ, सहभागी हुनुपर्छ ।’ ताराखोला गाउँपालिका धेरै सम्भावनाले भरिएकाले तिनलाई उजागर गर्न प्रदेश सरकाले हातेमालो गरिरहेको रोकाले बताइन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङकी सदस्य फूलमाया पुन, नेपाल कम्युनिस्ट पार्टीका ताराखोला गाउँपालिका अध्यक्ष पदम खत्री दिवसले शुभकामना मन्तव्य राखेका थिए । बिहीबारसम्म चल्ने साउने संक्रान्ति मेलामा पुरुष–महिला भलिबल प्रतियोगिता, सामूहिक लोक–एकल नृत्य प्रतियोगिता आयोजना गरिएको समिति सचिव गमिन नाउसाले जानकारी दिए ।
मेलामा लोकदोहोरी गायकगायिकाहरू विष्णु खत्री, कल्पना दाहाल, मोडल विमल केसीलगायतको सांगीतिक प्रस्तुति रहेको आयोजकले जनाएको छ । कार्यक्रम समिति अध्यक्ष जगबहादुर घर्तीको अध्यक्षता, सदस्य छवि जेम्सको स्वागत र सदस्य हिराबहादुर बगालेको सञ्चालनमा भएको थियो ।




















































































































































































































