सधैँजस्तै यसवर्ष पनि असार निख्रिनै लाग्दा सुरु भएको मनसुन र त्यसपछि आएको बाढी–पहिरोका कारण ९० जनाभन्दा बढीको ज्यान गयो । २९ जनाभन्दा बढी वेपत्ता र ४१ जनाभन्दा बढी घाइते भए । सयौँलाई घरबारबिहीन बनायो यो विपत्तले । यही विपत्तिको चपेटामा परे काभ्रे जिल्ला धुलिखेल नगरपालिका वडा नं ११ स्थित पातलेखेत निवासी सविन धिताल पनि ।
यही साउने संक्रान्ति याने १ गते साउनको दिनको कुरो हो । सविन दिनभरि आफ्नै पसलमा व्यस्त थिए । घर फर्कदा अबिरल वर्षा भइरहेको थियो । त्यही दिन बुधबार राति ४ बजेर २० मिनेट जाँदा निद्रामै घर घुमेजस्तो लाग्यो उनलाई । बाहिर निस्केर हेर्दा त तल्लो तलाको उत्तरतर्फको फलामको पोल दोब्रिसकेको रहेछ ।
सविनले बेलीविस्तार लगाउँदै भने– हतार–हतार भित्र छिरेर श्रीमती र बच्चाहरू लिएर भाग्यौँ । उनीहरूलाई छिमेकीको घर राखी दाजुलाई लिएर पसल जाँदा त गरगहना, नगद, मोबाइलसहित घर माटोमा मिलिसकेको रहेछ ।’
उनले भावुक हुँदै भने–‘सबैले खुशीका साथ संक्रान्ति मनाए तर मेरा लागि अत्यन्तै दुःखको दिन बन्यो यो संक्रान्ति । यसै दिन झण्डै ज्यान गएको यो दोस्रोपटक हो । केही बर्षअघि साउने संक्रान्तिकै दिन ससुराली जाँदा बस पल्टँदा झण्डै मरेको थिएँ । घटना भएको जानकारी पाउनासाथ छरछिमेकी, आफन्त, सुरक्षाकर्मी, पत्रकार, स्थानिय जनप्रतिनिधि, इन्जिनियर हरेराम हुमागाई, योजना शाखा प्रमुख श्रीबिक्रम ब्याजु लगायतको टोली त्यहाँ पुगेको थियो ।

११ नं वडाका अध्यक्ष बिष्णु काभ्रेलीको पहलमा नेपाली सेनासहितको उद्धार टोलीले सविनको घरमा रहेका महत्वपूर्ण बस्तु बाहिर निकालेको थियो । उनको घरमा लत्ताकपडा, गरगहना, नगद तथा खाद्यन्न, ३ सय वटा कुखुरा पुरिएका थिए । त्यहाँ २५ लाखभन्दा बढी क्षति भएको धुलिखेल नगरपालिकाका उपप्रमुख बिमला शर्माले बताए ।
सविनको घरको भित्तामा रहेको विपि राजमार्ग सडकको पानीको निकास बन्द भएको थियो । विभागले समयमै ध्यान नदिएकाले जथाभावी पानी बग्दा यस्तो स्थिति आएको पीडित सविनले बताउँदै भने– यो निकास पहिला नै निकालेको भए म यति ठूलो जोखिममा पर्ने थिइन् ।
(आजको नेपाल समाचारपत्रबाट)



















































































































































































































