१५ कार्तिक २०८३, शनिबार

 

जेसीज सप्ताह कार्यक्रममा स्वस्थ बच्चा प्रतिस्पर्धा हुँदै

बागलुङमा स्वस्थ बच्चा प्रतिस्पर्धा हुने भएको छ । बागलुङ जेसीजले आगामी भदौ २९ गते ६ महिना देखि ५ वर्ष उमेर समुहका बच्चाहरुमा उक्त प्रतिस्पर्धा गराउन लागेको हो । बच्चाको पोषण, उसले पाएको खोप, उमेर अनुसारको उचाई, मोटाई र बच्चाको समग्र स्वास्थ्यलगायतका क्षेत्रमा परीक्षण गरेर प्रतिष्पर्धा गराउन लागिएको जेसीज बागलुङका अध्यक्ष एन्जील शाक्यले बताए ।

धौलागिरी अञ्चल अस्पतालका स्वास्थ्य प्राविधिकहरुको सहयोगमा प्रतिपर्धा गराउन लागिएको हो । प्रतिपर्धामा उत्कृष्ट हुने बच्चालाई स्वस्थ बच्चा घोषणा गरिने र उचित पुरस्कारसमेत प्रदान गरिने शाक्यले बताए । बागलुङ जेसीजले हरेक वर्ष आयोजना गर्दै आएको जेसीज सप्ताह कार्यक्रम अन्तर्गत यो प्रतिस्पर्धा हुन लागेको हो ।

सप्ताहका अवसरमा जेसीजले स्वस्थ बच्चा प्रतिस्पर्धा गराउँदै आएको भए पनि प्राविधिक कारणले केही वर्ष पहिलेदेखि यो कार्यक्रम रोकिएको थियो । सप्ताहका लागि जेसीजले विभिन्न सात दिवसीय कार्यक्रमहरु सार्वजनिक गरेको छ । सप्ताहको पहिलो दिन उद्घाटन कार्यक्रम र युवा सम्मानको कार्यक्रम आयोजना गरिएको छ । दोस्रो दिन स्वस्थ बच्चा प्रतिस्पर्धा र ४१ औं स्थापना दिवस मनाउने, तेस्रो दिन सत्यदेवी स्मृति स्लो बाईक रेस, चौथो दिन अन्तरविद्यालय स्तरीय नृत्य प्रतियोगिता, पाँचौ दिन वोर्ड व्यवस्थापन, छैटौं दिन अन्तरक्रिया कार्यक्रम र सातौं दिन माविस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक आकृति भण्डारीले जानकारी दिईन् ।

जेसीजले शुक्रबार पत्रकार सम्मेलन गरेर आफ्ना कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रममा १ लाख २० हजार रुपैयाँ खर्च हुने अध्यक्ष शाक्यले बताए । कार्यक्रम एञ्जील शाक्यको अध्यक्षता, रामचन्द्र गौतमको स्वागत र सौरभ श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung