२३ भाद्र २०८३, मंगलवार

 

जो जलाइएकाहरूलाई मलम लगाउँछिन्

 

वीरगन्ज महानगरमा गत साता १५ वर्षीया किशोरी मुस्कान खातुनमाथि एसिड आक्रमण भयो । उनी एकसाथ हजार सुइराले घोचेजस्तो पीडा भोग्न बाध्य भइन् । सुन्नेहरूका आङ जिरिङ्ङ भए, राजधानीकी रुमी राजभण्डारी (३२) लाई जस्तै ।

मुस्कान अस्पताल शय्यामा तड्पिरहँदा रुमी पनि त्यो पीडा अनुभव गर्दै छटपटाइरहेकी थिइन् । तर यो उनको पहिलो छटपटी होइन । यसअघि पनि उनी यस्ता हरेक घटनाहरूमा यसै गरी दुखेकी छन् । त्यही दुखाइले उनलाई प्रेरित गरेको छ– पीडितको उद्धारमा जुट्न । उनीहरूलाई राहत र न्यायिक उपचार पुर्‍याउन ।

सञ्चारमाध्यममा आएका यस्ता समाचारसँगै रुमी पीडितसम्म पुग्ने बाटो खोज्न थालिहाल्छिन् । तर, समाचार बन्न नसकेका पात्रहरू पनि छन् जसको घाउमा उनले मल्हम लगाएकी छन् । पीडितका दर्दले उनको मानवीय चेतनालाई घचघच्याइरहन्छ ।

अहिले एसिड आक्रमण र आगजनीपीडित करिब एक दर्जन आमाका सन्तानहरूलाई ‘अस्तित्व नेपाल’ संस्थाले अभिभावकत्व दिइरहेको छ । रुमी यसकी संस्थापक अध्यक्ष हुन् । वीरगन्जमा केही महिनाअघि चिकित्सकले नै पत्नीलाई जलाए । दाइजो नल्याएको निहुँमा दिनहुँ प्रताडना भोगेकी उनको प्राणै खोसियो ।

यसले पनि रुमीलाई निकै मर्माहत बनायो । किन जलाइन्छ आखिर महिलालाई सन्तान र दाइजोको निहुँमा ? यस्तो कहर, यस्तो बीभत्सता र बर्बरता कहिलेसम्म ? उनले धेरैपटक आफैंलाई सोधेकी छन् । तर निरुत्तर छिन् ।

यही उत्तरको खोजीमा उनी अस्पताल, न्यायालय र प्रहरी कार्यालय पुगिरहन्छिन् । पीडितलाई उपचार र न्याय दिलाउने यो यात्रामा थुप्रै चिकित्सक, प्रहरी र न्यायाधीशका लागि उनी परिचित अनुहार भइसकिन् ।

रुमीमा रहेको सेवाभाव र समर्पण नै हो जसले उनलाई अमेरिकाको आवासीय भिसा त्यागेर नेपालै फर्कायो । जलाइएकाहरूकी साथी, संगी र अभिभावक बनायो । ‘यस्ता घटना पहाडभन्दा तरार्ईबाट धेरै आउने गरेका छन्,’ उनले भनिन्, ‘समाजमा फिल्मी शैलीको हिंसा छ । हिन्दी सिनेमा र टीभी सिरियलको प्रभावजस्तो लाग्छ ।’  गत वर्ष एसइई तयारीमा रहेकी राजधानीकी किशोरीमाथि पनि एसिड हानियो । रुमी त्यहाँ पनि पुगेर सहयोग गरिन् ।

घटनापछि मिडियामा समाचार आउँछ । दोषीलाई कारबाही गर्न संसद्मा पनि आवाज उठ्छ । सडकमा ब्यानर तन्काइन्छन् । तर त्यसले पीडितको घाउ निको हुँदैन । तिनलाई समाजमा पुनःस्थापित गर्नु अझ चुनौती हुन्छ । त्यसैका लागि आफू जोखिम मोलेर भए पनि राहत र उद्धारमा खट्ने गरेको रुमी बताउँछिन् ।

उनले ६ दर्जनभन्दा धेरै जलेका बिरामी भेटेकी छन् । कतिलाई सहुलियत, कतिलाई पूरै उपचार खर्च, कतिको खानपान र वासको व्यवस्था मिलाइदिएकी छन् । ती अधिकांश महिला छन् । केही महिला अब जलाउने पतिको घर नफर्कने भन्दै एक्लै संघर्ष गरिरहेका छन् । आत्मनिर्भर बन्दै छन् ।

कतिले मैनबत्ती बनाउँछन्, संस्थाले बेचिदिन्छ । केहीले छुट्टै डेरा लिएर आफ्नै बलबुतामा सन्तान पढाइरहेका छन् । यो आँट रुमीले नै दिलाएकी हुन् । उनलाई वाहवाही चाहिएको छैन । कतिपय अवस्थामा पीडित र पीडकलाई पनि गोप्य राखेर न्यायको लडाइँ लड्नुपर्ने हुन्छ । त्यस्तो बेला प्रचार खोज्नु समाजसेवा नहुने उनको तर्क छ । एक दशकदेखि यस क्षेत्रमा काम गर्दै आए पनि संस्था नै खोलेर लागेको गत वर्षबाट मात्र हो ।

उनी पहिले परिवार, साथीभाइको सहयोग लिएर पीडितसम्म पुग्थिन् । ‘तर कतिन्जेल अरूको सहयोग र अश्वासनमा भर पर्नु, त्यसैले छुट्टै संस्था दर्ता गरेर काम गर्नुपर्छजस्तो लाग्यो,’ उनले भनिन् ।

बागलुङको समृद्ध परिवारकी हुन् रुमी ।व्यवसायी तथा समाजसेवी बुबा रघुनाथ राजभण्डारी आमा रेनु राजभण्डारीको जेठी छोरीको रुमीले असल संस्कार , अनुशासन र मेहनत गर्ने परम्परा पाइन । विस २०४३ सालमा बागलुङ बजारको किनारा टोलमा जन्मिएकी रुमीले संघर्षको धेरै खड्किला पार गर्दै आएकी छिन ।

त्यहीँबाट सुरु भएको विद्यालयशिक्षा पोखरा हुँदै काठमाडौं आएर पूरा गरिन् । व्यवस्थापन अध्ययनमा लागेकी उनी बिबिए भर्ना हुँदासम्म योजनाबिनै अघि बढिन् । त्यसपछि एक्कासि उनलाई ब्याचलर इन सोसल वर्क (बिएसडब्लु) विषय पढ्ने सुझाव आयो । सुरु गरिहालिन् । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत राजधानीको एक कलेजबाट बिएसडब्लुमा स्नातक गरिन् । अहिले अध्ययनले भन्दा कर्मले खारिएकी छन् । समाजसेवीको परिचय बनाउँदै छिन् । यसमा पिताको प्रोत्साहन पनि निकै रहेको रुमी बताउँछिन् ।

स्नातकलगत्तै उच्च अध्ययनका लागि बेलायत जाने तयारी गरे पनि कारणवश पूरा भएन । सोच पनि बदलियो । त्यसपछि नेपालमै स्नातकोत्तर गरिन् । उनलाई स्नातक पढ्दा संस्थामा स्वयंसेवी भएर गर्दाको कामले आकर्षण गरिरह्यो । कहिले केन्द्रीय कारागारका कैदी–बन्दीसँग त कहिले उनीहरूका परिवारलाई राहत, उद्धारका लागि खट्थिन् । अभिभावकसँग बन्दी जीवन बिताइरहेका निर्दोष बालबालिकाको अवस्थाले मन कुँडिन्थ्यो । करुणा जागृत गराइदिन्थ्यो ।

त्यसपछि नै हो, उनले समाजसेवालाई आफ्नो जीवनमार्ग बनाएको । अनेकौं घटनाबारे जान्न र बुझ्न सक्ने भइन् । प्रस्टसँग आफ्ना कुरा राख्न सक्ने भइन् । पीडितका पक्षमा आवाज उठाउन थालिन् । परिवारलाई विश्वास गर्नै गाह्रो भयो कि उनी तिनै पहिलाकी रुमी हुन् । मायाले पुलपुलिएर हुर्किएकी छोरी आफू र घरभन्दा समाज र पीडितका लागि खटिएको देख्दा परिवार अच्चम पर्ने गरेको उनी सुनाउँछिन् ।

समाजसेवा र विभेदविरुद्धको चेतले अब उनलाई दृढ बनाइसकेको थियो । विवाहबन्धनमा बाँधिएपछि पनि कामलाई निरन्तरता दिन सफल छिन् ।

करिब ५ वर्षअघि ३ महिनामै अमेरिकाबाट फर्किएपछि उनलाई फेरि आफूले काम गरेको क्षेत्रले आकर्षण ग¥यो । जलेका, एसिड फालिएका र उनीहरूका अबोध बालबालिकालाई कार्यक्षेत्र बनाएर काम गर्ने प्रेरणा मिल्यो । पतिको भरपूर सहयोग छ । अस्पतालमा त्यस्ता व्यक्ति भेटेर फर्किंदा उनको कुरा सुनिदिने पहिले व्यक्ति पति नै हुन्छन् । उनलाई आवश्यक आर्थिक सहयोग पनि गरिदिन्छन् । ‘उहाँको सहयोगले मलाई यो क्षेत्रमा काम गर्न थप उत्पे्ररित ग¥यो,’ उनले भनिन् । यही क्षेत्रमा काम गर्दा युगान्डा र कम्बोडियासम्म पनि पुगिन् । उनको बुझाइमा यस्ता आपराधिक घटनाको पृष्ठभूमि गरिबी, अशिक्षा र हिंसाको मनोविज्ञान नै हो ।

नेपालको सन्दर्भमा महिला हिंसामा काम गर्ने संस्था हजारौं छन् । तर जलेका र एसिड प्रहारमा परेकाहरूको राहत, उद्धार र न्यायिक लडाइँमा सहभागी हुने प्रतिबद्ध संस्था अरू छैनन् । त्यस्ता घटनाका अभियुक्तलाई नेपालको विद्यमान कानुन पर्याप्त नभएको रुमीको अनुभव छ । अहिलेको कानुनले दोषीलाई १० वर्ष जेल सजाय र अधिकतम ५ लाख रुपैयाँ जरिवाना गर्छ । १० वर्षको जेल दिन–रात र सरकारी बिदा गन्ती गर्दा साढे ३ वर्षजति मात्र हुन आउँछ । पीडितको उपचारमा ५ लाख रुपैयाँ पर्याप्त हुँदैन । त्यसैले सरकारले कानुन र क्षतिपूर्ति अझ कडा बनाउनुपर्ने उनको सुझाव ।

नेपालमा यस्ता घटना वार्षिक कति हुन्छन्, राज्यसँग आधिकारिक तथ्यांक छैन । यो नै प्रमाण हो, सरकार पीडितप्रति रुमीजति पनि संवेदनशील छैन । उनलाई लाग्छ, राज्यले नै चाहने हो भने महिलाहिंसाका घटनामा साँच्चै कमी आउनेछ । पत्रिकामा फेरि मुस्कानहरू एसिडले जलाइएको खबर छापिनेछैन ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung