६ जेष्ठ २०८१, आईतवार

 

खेल विश्लेषण : करातेमा नेपालकाे ऐतिहासिक प्रदर्शन

१३ औं दक्षिण एसियाली खेलकुदको उद्घाटनपछिको पहिलो दिन नै नेपालले करातेमा ७ स्वर्ण जितेको छ । निकै महत्त्वकांक्षी प्रदर्शन गरेको नेपाली कराते टोलीले पहिलो दिन नै स्वर्ण पदकको वर्षा गरेपछि सम्पूर्ण नेपाली टोलीमा उत्साह जागेको छ ।

करातेको पुरुष र महिला दुवै टोलीले नेपाललाई पहिलो दिन ७ स्वर्णसहित २ रजत पदक दिलाउन सफल भएको हो । कराते (एकल काता) तर्फ मण्डेकाजी श्रेष्ठले स्वर्ण जितेर नेपाली टोलीले खाता खोलेको थियो । यसपछि टिम कातातर्फ महसुस तामाङ, प्रविण मानन्धर, निर्मला तामाङ, संगिता मगर र सरु कार्कीको महिला तथा पुरुष टोलीले २ स्वर्ण जिते ।

यस्तै कराते ५५ केजीतर्फ लक्ष्मण तामाङ, ८४ केजीमाथि विप्लवलाल श्रेष्ठ, ४५ केजीमुनि कुसुम खड्का, ५० केजीमुनि अनु अधिकारीले स्वर्ण जिते । रजत पदकतर्फ भने कराते एकल कातामा चन्चला दनुवार र ८४ केजीमुनि दिवस श्रेष्ठले रजत पदक जिते ।

मन्डेकाजीले २५.७२ अंकसहित नेपाललाई करातेतर्फ १३औं सागको पहिलो स्वर्णपदक जिताएका थिए ।  यसतर्फ पाकिस्तानका निमातुल्लाहले २४.९२ अंकसहित रजत पदक जिते ।

सातदोबाटोस्थित कराते हलमा सोमबार भइरहेको प्रतियोगितामा मन्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण महर्जनको टोलीले २५.५४ अंक बटुल्दै स्वर्ण पदक जितेको हो । फाइनलमा श्रीलंकालाई हराएर नेपाली टोलीले स्वर्ण पदक चुमेको हो । नेपालले कराँतेको महिला टिम कातातर्फ पनि स्वर्ण जितेको छ । नेपालले २४.८८ अंकसहित स्वर्ण पदक जितेको हो । नेपालले फाइनल भिडन्तमा पाकिस्तानलाई हराएको हो ।

५५ केजी तौल समूहतर्फ नेपालका लक्ष्मण तामाङले फाइनल भिडन्तमा बंगलादेशका मोहम्मद मोस्ताफालाई हराउँदै स्वर्ण चुमेका हुन् । लक्ष्मणले सेमिफाइनलमा श्रीलंकाका वार्नकुल सिरियाजकलाई हराएका थिए । त्यस्तै बंगलादेशी खेलाडी मोस्ताफाले पाकिस्तानका मुरद खानलाई हराउँदै फाइलन प्रवेश गरेका थिए ।

विप्लवलाले जिते स्वर्ण पदक कराँतेतर्फको ८४ केजी समूहमा नेपालका लागि विप्लवलाल श्रेष्ठले स्वर्ण पदक जितेका छन् । उनले पाकिस्तानका मोहम्मद बाजलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । स्वर्ण जित्ने क्रममा विप्लवलालले सेमिफाइनलमा श्रीलंकाका माग्गोना गमरललएजलाई पराजित गरेका थिए ।

विप्लवलालसँगको भिडन्तमा श्रीलंकाली खेलाडीले अंकै जोड्न पाएनन् । उनीसँग पराजित पाकिस्तानका बाजले सेमिफाइलनमा बंगलादेशका एमडी एटिक्वुरलाई पराजित गरेका थिए।

साग करातेका लागि छनोट भएका २९ खेलाडीसहित ३३ सदस्यीय नेपाली टोलिले मलेसियाकाे क्वालालम्पुर प्रशिक्षण गरेकाे थियाे ।

नेपाली टाेलीतर्फ पुरुष खेलाडीमा मन्डेकाजी श्रेष्ठ, महसुश तामाङ, प्रवीण मानन्धर, सोनाम लामा, लक्ष्मण तामाङ, राजीव पुडासैनी, राजकुमार रसाइली, नवीन रसाइली, अर्जुन चन्द, गंगाराम कुशुवार, मुकुन्द्र महर्जन, दिवस श्रेष्ठ, सुशील पौडेल, विप्लवलाल श्रेष्ठ र लेखनाथ मैनाली रहेका छन् ।

महिलामा निर्मला तामाङ, सरु कार्की, संगीता मगर, चन्चला दनुवार, कुसुम खड्का, अनु अधिकारी, मनीषा चौधरी, सुस्मिता वाइबा, अनु गुरुङ, एस्टर राई, सुनिता महर्जन, सनी तामाङ, अनुपमा मगर र रिता कार्की छन् ।

 

प्रतिक्रिया दिनुहोस्