न्यूनचापीय पश्चिमी वायु प्रणाली नेपाल प्रवेश गरेको छ। हिउँदयाममा पानी र हिउँ पार्ने यो प्रणाली प्रवेश गरेसँगै देशभरको तापक्रममा गिरावट आएको छ।
बुधबार साँझदेखि पश्चिमी वायु नेपाल प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। यो प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपात हुने सम्भावना रहेको विभागले जारी गरेको सूचनामा छ ।
बिहीबार आज देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ। साथै, पछिल्लो पटक भित्रिएको मौसमी प्रणालीका कारण देशभरकै मौसम बदली भई अधिकतम र न्यूनतम तापक्रम समेत घट्नेछ।
उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपात र पहाडी भेगमा वर्षा भई तापक्रम घट्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । बुधबारबाट शुरू भएको यो मौसमी प्रणाली शनिबारसम्ममा अन्त्य हुनेछ।



















































































































































































































