फेसबुकको भित्ता राता गुलाफसँगै जोडीहरूका प्रेमिल तस्बिरले रंगिरहेथ्यो । हरेकजसो स्ट्याटसले भ्यालेन्टाइन्स डेको शुभकामना बोलिरहेका थिए । तर, एकाबिहानै एक सामाजिक अभियन्ताले लेखेको स्ट्याटस तीभन्दा फरक थियो । मलाई पनि ट्याग गरिएको रहेछ ।
स्ट्याटसअनुसार बागलुङ, बडिगाड–७ का वीरबहादुर परियारकी श्रीमतीले बिहानै रीमा सापकोटालाई रुँदै फोन गरिन्– ‘म्याम हजुर कहाँ हुनुहुन्छ ? म काठमाडाैं आइपुगेँ, श्रीमान्को होस नि छैन । मेरो साथमा पैसा कत्ति नि छैन । बसभाडा नि सहयोग मागेर आएको छु, हजुर तुरुन्तै आउनुहोस् ।’
रीमाले लेखेकी छिन्, ‘उहाँको अवस्था निकै गम्भीर देखें, अहिले वीर हस्पिटलमा उपचार सुरु गरिँदै छ । सानी नानी बाबाको उपचार होस् भन्दै बेडमा समातिरहेकी छन् । यो रोग पनि गरिबलाई त नलागे हुन्थ्यो नि हे भगवान्…औषधि किन्ने पैसा छैन भन्दै श्रीमती रुँदै छिन्, मैले सकेको सहयोग गर्दै छु । हजुरहरूले पनि जे–जति सक्नुहुन्छ, सहयोग गरिदिनुहोला । उहाँ वीर अस्पतालको इमर्जेन्सीमा हुनुहुन्छ ।’
०००
४१ वर्षीय वीरबहादुर परियार भारतमा बसेर मजदुरी गर्थे । परिवारको लालनपालनको जिम्मा उनकै काँधमा थियो । पहिले बाबुआमा पनि भारत बस्थे । २०५४ सालमा बाबु प्रेमबहादुर गाउँ फर्के । वीरबहादुर पनि कहिलेकाहीँ घर आउँथे ।
प्रेमबहादुर गाउँमा ‘कटुवाल’को काम गर्छन् । गाउँमा नयाँ काम र केही बैठक भए त्यसको उर्दी गर्नु उनको काम हो । परिवारमा श्रीमती, छोरा, बुहारी र नातिनी छन् । कमाउन गएको छोरो बिरामी भएर फर्किएपछि बुढ्यौलीमा चिन्ता थपिएको छ प्रेमबहादुरलाई ।
‘साहूसँग ऋण काढेर उपचारका लागि इन्डिया पठाएँ, सन्चो भएर आउला भन्ने ठूलो आस थियो तर अहिले झनै थला परेर आयो,’ प्रेमबहादुरले रुँदै भने ।
पेट फुल्ने, ज्वरो आउने समस्या देखिएपछि वीरबहादुर २४ भदौमा भारत गएका थिए । औषधि लिएर फर्किएका उनी झन् थला पर्दै गए । पत्नी मञ्जुले उनलाई काठमाडौं लैजाने निधो गरिन् । वडाध्यक्ष कृष्ण गुरुङले ५ हजार रुपैयाँ बाटोखर्च सघाए ।
गत बिहीबार बिहान मञ्जु पतिलाई गाउँकै जिपमा राखेर सदरमुकाम आइपुगिन् । एक–दुई जना अरू पनि साथी आएका थिए । तर, खर्च नपुग्ने देखेपछि उनीहरू फर्किए ।
वीरबहादुरको भन्दा झन्डै आधा कम उमेरकी छन् मञ्जु । एक वर्षे काखे छोरी पनि छिन् ।
बाटोमा पति झन् सिकिस्त भए । सदरमुकामबाट बस चढेपछि बोल्नै छाडे । मञ्जुले उनलाई बारम्बार झकझकाइन् । वीरबहादुर बेहोस भइसकेछन् । उनको अवस्था देखेर बसले पनि सकेजति छिटो ल्याइदियो । तर बिहान ४ बजे काठमाडाैं ब्युँझिसकेको थिएन । मञ्जुले पतिलाई सकीनसकी बसको सिटबाट घिसार्दै बसपार्कमा ओरालिन् । काठमाडौं पहिलोपटक हो उनका लागि । वीर अस्पताल कहाँ छ, पत्तो थिएन ।
साथमा थियो त तिनै अभियन्ता रीमाको नम्बर, वडाध्यक्ष गुरुङले दिएको । रीमाले नै उनलाई त्यहाँबाट ट्याक्सीमा राखेर वीर अस्पताल लैजान सुझाव दिइन् । ट्याक्सीले ५ सय रुपैयाँमा पुर्याइदियो ।
इमर्जेन्सी वार्डको बेड नम्बर ३ मा मृत्युसँग संघर्ष गरिरहेका थिए वीरबहादुर । यता मञ्जुको संघर्ष उस्तै छ । लगेको पैसा सकिइसक्यो । इमर्जेन्सी वार्ड पुग्ने हरेक नयाँ मान्छेलाई उनको अनुनय हुन्छ– ‘हजुर मेरो श्रीमान्लाई बचाइदिनुस् । यिनलाई केही भए छोराछोरी कसरी पाल्ने ? कसरी बाँच्ने ?’

वीरअस्पतालमा श्रीमान र छाेरीसँगै मञ्जु
चिकित्सकका अनुसार वीरबहादुरलाई लिभरको इन्फेक्सन र मिर्गौलामा समस्या छ । उनलाई जतिसक्दो छिटो आईसीयूमा राख्नुपर्छ । तर अस्पतालले आईसीयू खाली नभएको जनाएको छ । त्यसो त मञ्जुसँग आईसीयूको खर्च धान्ने सामथ्र्य नै कहाँ छ र ? छ त केवल गरिबको परिचयपत्र । त्यो पनि धेरैलाई देखाउँदा–देखाउँदै फाट्न लागिसक्यो ।
डाक्टरले औषधिको लामै सूची लेखिदिएका छन् । पसलमा पुगेर सोध्दा एकै दिनको १० हजार लाग्ने रहेछ । मञ्जुले खल्ती टकटक्याइन् । जम्मा ५ सय रहेछ । डाक्टरले ५ दिनसम्म निरन्तर खुवाउनुपर्ने बताएका छन् । वीरबहादुरले तीन दिनदेखि औषधि खान पाएका छैनन् । मञ्जु आफैंलाई धिक्कार्छिन्, ‘गरिबको कोखमा जन्म लिनु बेकार रहेछ !’
साँच्चै सोझी छन् उनी । आफ्ना पति कोमामा रहेको बताउँछिन् । आईसीयूमा पुर्याउनासाथ पति पहिलेजस्तै सारसाैंदो भएर ठमठमी हिँड्छन् भन्ने लाग्छ उनलाई । त्यसैले त्यहाँ आउने जोकोहीलाई हारगुहार गर्छिन्– ‘लौ न सर, मेरा श्रीमान्लाई आईसीयूमा राखिदिनू ।’ तर उनको कुरा न कुनै दाताले सुनेका छन् न अस्पतालले ।
इमरजेन्सी विभागका प्रमुख विष्णुबहादुर बस्नेतले वीरमा आईसीयू खाली नभएकाले राख्न नसकिएको बताए । ‘हामीकहाँ आईसीयू खाली छैन, अन्य अस्पतालमा लगेर उपचार गराउन भनेका छौँ,’ उनले भने ।
पतिलाई सकेसम्म आँखाबाट ओझेल पर्न दिन्नन् मञ्जु । छोरीलाई दूध चुसाउन एक छिन बाहिर निस्किँदा पनि केही होला कि भनेर आत्तिन्छिन् । अपरिचित कुनै नम्बरबाट फोन आउँदा उनको पहिलो वाक्य हुन्छ– ‘मेरो श्रीमान् बिरामी हुनुहुन्छ, बचाइदिनुहोस् न ।’
बागलुङमै रहेका बाबुआमा छोरा झन् सिकिस्त भएको सुनेर विक्षिप्त छन् । उनीहरूका आँखा हिजोआज कमै ओभाउँछन् । ‘बिहान विष्टको काम गरेर जेनतेन परिवार पालिरहेको थिए, छोरा बिरामी भएपछि कामै गर्न जाँगर छैन,’ प्रेमबहादुरले फोनमा रुँदै सुनाए, ‘मर्ने बेलाँ यस्तो के दिन आयो !’

घरमा प्रेमबहादुर
प्रेमबहादुर दम्पतीले पनि अहिलेसम्म काठमाडौं टेकेको छैन । बस, उनीहरू एउटा यस्तो फोनको प्रतीक्षामा छन्– छोरो ठिक भएको खबर सुनियोस् । उनीहरूसँग मोबाइल फोनधरि छैन । छोराका बारेमा केही थाहा पाउन फोन बोकेका मान्छे खोज्दै गाउँ चहार्नुपर्छ । एक्लो छोरो, बुढेसकालको सहारा अस्पतालको बेडमा इन्तु न चिन्तु छ । प्रेमबहादुरको घरै अँध्यारो भएको छ ।
अहिले वीरबहादुरलाई बेड नम्बर १५४ मा सारिएको छ । यता ‘वीरबहादुर बचाऔं अभियान’ चलाइरहेकी रीमाको फेसबुकमा स्ट्याटस थपिँदो छ– ‘गरिब परिवारका लागि हामी सबैको सहयोग खाँचो छ । हामी सहयोगी मनहरूको पर्खाइमा छौं ।’ उनले सम्पर्क नम्बर पनि छाडेकी छन्– ९८६९८५२९०२ ।



















































































































































































































