१५ कार्तिक २०८३, शनिबार

 

विद्यालय भवन बनाउन महायज्ञमा डेढ करोड संकलन

बागलुङ नगरपालिका–१४ नारायणस्थानमा आयोजित श्रीमद्भागवत धनधान्याचल महायज्ञमा १ करोड ४४ लाख संकलन भएको छ ।

आधार आधारभूत विद्यालयलाई आर्थिक सोत जुटाउने उद्देश्यले आयोजित महायज्ञमा उक्त रकम जुटेको हो ।

महायज्ञको अन्तिम दिन बुधबार बागलुङ नगरपालिका–१४ का स्वर्गीय धनबहादुर घर्ती क्षेत्री, हिला घर्ती क्षेत्री र जनककुमारी घर्ती क्षेत्रीको स्मृतिमा परिवारले ८ लाख ८ हजार ८ सय ४८ रुपैयाँ सहयोग गरे । त्यस्तै बागलुङ नगरपालिका–१४ की डम्मरकुमारी जीसीले ५ लाख ५ सय ५५ रुपैया सहयोग गरे ।

महायज्ञमा बुधबार हरि जीसी र सुपारी जीसीको पहलमा अमेरिकामा रहेका बलेवाबासीले ३ लाख २४ हजार २ सय ३१, नीरज केसीको पहलमा अस्ट्रेलियामा रहेका बलेवाबासीले ९७ हजार ५२, बानपा–१४ की ईश्वरादेवी खत्रीले १ लाख १ हजार १ सय ५७ रुपैयाँ सहयोग गरेका थिए ।

विद्यालयको ३२औं वार्षिकोत्सवको अवसरमा आर्थिक सहयोग जुटाउन महायज्ञ आयोजना गरिएको हो । त्यस क्रममा प्रतिनिधिसभा सदस्य मनकुमारी केसीले शिक्षा क्षेत्रको विकास गर्न सबैको साझा पहल आवश्यक रहेको बताइन् । त्यस्तै प्रदेशसभा सदस्य मणिभद्र शर्मा कँडेलले समाज परिवर्तनका लागि शिक्षा अपरिहार्य रहेकाले यो क्षेत्रको विकास गर्न सबैको साझा संकल्प आवश्यक रहेकोमा जोड दिए ।

विद्यालयको शैक्षिक गुणस्तर सुधार र पूर्वाधार विकास गर्ने आर्थिक स्रोत जुटाउन महायज्ञ आयोजना गरिएको आयोजक समितिका महासचिव रत्नबहादुर खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung