नेपाल महिला संघ बागलुङले संगठन सुदृढीकरण अभियान तीव्र बनाएको छ । जिल्लाका सबै स्थानीय तहमा संगठन विस्तार गर्न नयाँ अभियान थालनी गरेको हो ।
नेपाली कांग्रेसको भगिनी संस्थाका रूपमा रहेको संघले जिल्लाका दशै स्थानीय तहमा संगठन विस्तार अभियान तथा अन्तरक्रिया कार्यक्रम पनि सञ्चालन गरेको छ ।
अभियानका क्रममा हरेक वडामा स्थानीय तहको निर्वाचनमा सहभागी भएका कांग्रेस उम्मेदवार र निर्वाचित जनप्र्रतिनिधिलाई साथमा राखेर संगठनबारे अन्तरक्रिया र कार्ययोजना तयार गरिने संघकी जिल्ला अध्यक्ष शकुन्तला शर्माले बताइन् ।
काठेखोला गाउँपालिकाबाट सुरु गरिएको अभियानअन्तर्गत शनिबार जैमिनी नगरपालिकामा बृहत् भेला तथा अन्तरक्रिया सम्पन्न गरिएको छ । कार्यक्रममा जैमिनीका नगरप्रमुख इन्द्रराज पौडेलले महिलाको क्षमता विकासमा संघले निकै महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
भेलाले भगवती सापकोटाको अध्यक्षतामा ३५ सदस्यीय नेपाल महिला संघ जैमिनी नगरसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दुर्गादेवी पौडेल र रीता परियार, सचिवमा कमला आचार्य र खगीसरा शर्मा, सहसचिवमा मुनादेवी शर्मा र कोषाध्यक्षमा कुमारी राना छन् ।



















































































































































































































