अमेरिकी सरकारले नेपाल लगायत २५ कोरोना भाइरस फैलिएका र फैलिन सक्ने मुलुकमा नियन्त्रण र रोकथाम प्रयासको लागि करिब ३ करोड ७० लाख डलर बराबरको आपतकालिन सहयोग दिने घोषणा गरे अनुसार अमेरिकी सहयाेग नियाेग युएसआइडीले नेपाल सरकारलाई उपचार राहत सामाग्री सहयोग गरेको छ । युएसआइडीकी निमित्त मिशन निर्देशक एड्रियाना हएसले यी सामाग्रीहरू आज स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालालाई राहत उपचार सामाग्री हस्तान्तरण गरेकी हुन् ।
समाग्री हस्तान्तरण पछि युएसआइडीले समाजिक संजाल मार्फत नेपालीको कोरोना भाइरस फैलिन नदिने विभिन्न प्रयासहरूमा सहयोग गर्न प्रतिवद्ध रहेको जानकारी गराएको छ । युएसआइडीले ‘यो साता हामीले उपकरणमा ३,००० मास्क, २,५०० चेहरा कवच, २,००० जुत्ता ढाक्ने खोल, २,१०० सर्जिकल टोपी, १,००० ट्राउजर तथा ट्युनिक, १० वटा थर्मो फ्ल्यास थर्मोमिटर, व्यक्तिगत सुरक्षा उपकरणका ७ थान, लेटेक्स पन्जा ४०० थान, र जैविक जोखिमका वस्तु बोक्ने झोला ११० थान लगायत अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण हस्तान्तरण गरेका छौं।’ भनेको छ । नेपालमा कोरोना भाइरसको महामारी संत्रास छाइरहदा अकेरिकी सहयोग नियोग ‘युएसआइडी’ले उल्लेखित सामाग्री नेपाल सरकारलाई प्रदान गरेको हो ।



















































































































































































































