२ जेष्ठ २०८१, बुधबार

 

खिमबहादुर खड्काको स्मृतिमा गोविन्द अधिकारी मेमोरियल फाउन्डेसनलाई २ लाख, मजदुरलाई खाद्यान्न सहयोग

बागलुङ नगरपालिका–३ गुठीका खिमबहादुर खड्काको स्मृतिमा बुधबार खड्का परिवारले विभिन्न व्यक्ति तथा संस्थालाई सहयोग प्रदान गरेको छ । श्रीमती गोमा खड्काले आफनो श्रीमान खिमबहादुर खड्काको वार्षिक पुण्यतिथिको अवसर पारेर गोविन्द अधिकारी मेमोरियल फाउन्डेसन र लकडाउनले मर्कामा परेका मजदुरलाई सहयोग गरिएको हो ।

बागलुङ क्षेत्र नम्बर १ का पूर्वसांसद स्वर्गीय गोविन्द अधिकारीका नाममा स्थापित फाउन्डेसनलाई २ लाख २० हजार रुपैयाँ प्रदान गरिएको छ । त्यस्तै लकडाउनले रोजगारी गुमाएका १५ मजदुरलाई चामल, दाल, तेल र नुनलगायत खाद्य सामग्री वितरण गरिएको छ ।

२०७६ पुस १३ गते स्थापित फाउन्डेसनमार्फत सामाजिक कामका साथै समस्यामा परेकालाई राहत प्रदान गर्ने सोचले दिवंगत पतिको वार्षिक पुण्यतिथिमा सहयोग गरेको गोमा खड्काले बताइन् ।

बुबा खिमबहादुरको स्मृतिमा परिवारको सल्लाहमा हामीले गोविन्द अधिकारी मेमोरियल फाउन्डेसनलाई आर्थिक र मजदुरहरुलाई खाद्यान्न सहयोग गरेको छोरा डोलेन्द्र खड्काले नयाँ विश्वलाई बताए ।

हामीले बुबाको स्मृतिमा केही सामाजिक काम गर्ने सल्लाह अनुसार यो सहयोग गरेको हो र भविष्यमा बुबाको स्मृतिमा सामाजिक सेवा जारी राख्ने छोरा उज्ज्वल खड्काले बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा संघीय सांसद मनाकुमारी केसीले पूर्वसांसद अधिकारी जनताको अधिकार र सेवामा समर्पित व्यक्ति भएको र उनको स्मृतिमा स्थापित फाउन्डेसनलाई सहयोग गरिनु प्रशंसनीय भएको बताइन् । ‘स्वर्गीय अधिकारी जीवन र राजनीतिका कठिन दिन पार गरेर पनि अविचलित त्याग र समर्पण गरी राजनीतिमा स्थापित र जनताको मन मनमा बस्न सफल हुनुहुन्थ्यो,’ उनले भनिन् ।

बागलुङ नगरपालिका–३ गुठीमा जन्मिएका अधिकारी बागलुङ क्षेत्र नम्बर १ को दोस्रो संसदीय निर्वाचनमा विजयी भएका थिए । २०७५ फागुन ११ मा हिँडेर गलकोट जाने क्रममा बिहुँको सिर्पाली भन्ने स्थानमा हृदयघात भई उनको निधन भएको थियो ।

‘लोकप्रिय नेताका रूपमा परिचित अधिकारीका नाममा फाउन्डेसन दर्ता भएर उहाँका सपना पूरा गर्ने कार्य थालनी गरिएको छ,’ फाउन्डेसनकी अध्यक्ष भीमा अधिकारीले भनिन्, ‘आगामी दिनमा विभिन्न सामाजिक र परोपकारी कार्यमा फाउन्डेसनले काम गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्