१५ कार्तिक २०८३, शनिबार

 

तमानखोला गाउँपालिकामा स्थानीय पाठ्यक्रम बनाइँदै

जिल्लाको तमानखोला गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण कार्यलाई तीव्रता दिएको छ । नेपालको संविधान २०७२ मा स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका सम्भावनालाई विषयवस्तु बनाएर पाठ्यक्रम निर्माण गरी पठनपाठन गर्न सक्ने व्यवस्था छ ।

त्यसैअनुरूप स्थानीय पाठ्यक्रम निर्माणलाई तीव्र बनाएको गाउँपालिकाले जनाएको छ । पाठ्यक्रममा स्थानीय भाषा, कला–संस्कृति, भेषभूषा, चालचलन तथा रहनसहन, पर्यटन, कृषि–उत्पादन र पशुपालनका सम्भावना समावेश गरिँदै छ । आगामी शैक्षिक सत्रबाट नै लागू गर्ने गरी पाठ्यक्रमको तयारीमा लागेको गाउँपालिका शिक्षा शाखा प्रमुख पुरन घर्तीले बताए । ‘हामीले स्थानीय पाठ्यक्रम निर्माणको कामलाई तीव्र बनाएका छौं,’ उनले भने, ‘पाठ्यक्रम निर्माणको ७० प्रतिशत काम सकिएको छ ।’

पाठ्यक्रम निर्माणको काम सकिएपछि ‘मेरो गाउँपालिका’ नामक पुस्तक तयार हुनेछ । उक्त पुस्तक आगामी शैक्षिक सत्रबाटै पढाउन सुरु हुने घर्तीले बताए । ‘आगामी २०७८ को शैक्षिक सत्रमा कक्षा १ मा यो विषय लागू हुनेछ,’ उनले भने, ‘त्यसपछि क्रमशः कक्षा पाँचसम्म यो विषयको पठनपाठन हुनेछ ।’ साताको चार दिन पठनपाठन हुने गरी १ सय पूर्णांकको पाठ्यक्रम निर्माण भइरहेको उनले जानकारी दिए ।

१ सय पूर्णांकलाई पनि दुई खण्डमा एउटा अनिवार्य र अर्को ऐच्छिक खण्ड गरेर विभाजन गरिएको छ । अनिवार्य खण्डलाई सबै विद्यालयले पढाउनुपर्नेछ,’ उनले भने, ‘ऐच्छिक खण्डमा रहेका विभिन्न क्षेत्र छनोट गरेर पठनपाठन गराउन सक्नेछन् ।’ ऐच्छिक खण्डमा पनि दुईवटा उपखण्ड छन् । उपखण्ड ‘क’ मा ९ वटा क्षेत्र मध्ये ३ वटा र उपखण्ड ‘ख’ अन्तर्गत ५ क्षेत्रमध्ये दुईवटा रोजेर बढाउनुपर्ने उनले बताए ।

पाठ्यक्रमको अनिवार्य खण्डमा स्थानीय रहनसहन, चालनचलन–संस्कृति, भाषा, ऐतिहासिक व्यक्तिहरूको जीवनी, पर्यटकीय क्षेत्र, कृषि, पशुपालनलाई समावेश गरिएको छ । अनिवार्य खण्डमा सैद्धान्तिक विषयमा बढी जोड दिइएको छ भने ऐच्छिक खण्डलाई बढी प्रयोगात्मक बनाउने प्रयास गरिएको छ ।

ऐच्छिक खण्डमा पर्यटन व्यवसाय, साना तथा ठूलो उद्योग, गाउँपालिकाका मुख्य खेती, पशुपालनलगायत क्षेत्र समावेश गरिएको छ । गाउँपालिकाले पालिका अध्यक्ष संयोजक र शिक्षा शाखा प्रमुख सदस्य–सचिव रहेको पाठ्यक्रम निर्माण समिति बनाएर पाठ्यक्रम निर्माणको काम अगाडि बढाएको हो । पाठ्यक्रम स्थानीयदेखि राष्ट्रिय विज्ञहरूको राय–सुझाव लिएर तयार पार्ने काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाभित्रको अवस्था र सम्भावनाबारे विद्यार्थीलाई सानै उमेरदेखि जानकारी गराउने र उनीहरूलाई त्यसतर्फ लाग्न प्रेरित गर्ने उद्देश्यले पाठ्यक्रम निर्माण अगाडि बढाइएको तमानखोला–५ का वडाध्यक्ष एवं सामाजिक विकास शाखा प्रमुख हिराबहादुर विकले बताए । ‘हामीले यहाँका बालबालिकालाई राष्ट्रिय अन्तर्राष्ट्रिय कुरा पढायौं,’ उनी भन्छन्, ‘तर यही घर–आँगनको रहनसहन र चालचलन भने बिर्संदै जाने अवस्था सिर्जना भयो । त्यसले गर्दा पनि स्थानीय पाठ्यक्रमको आवश्यकता देखियो ।’

राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेका यहाँका गतिविधि, रहनसहन समावेश गर्न आफ्नै पाठ्यक्रम बनाउने काममा लागेको गाउँपालिका अध्यक्ष जोकलाल बुढा बताउँछन् । ‘तमानखोलाका बालबालिकालाई स्याउखेतीका बारेमा पढाउनुको खासै अर्थ रहन्न किनकि यहाँ स्याउ उत्पादन हुँदैन,’ उनले भने, ‘यहाँको जडीबुटीको प्रवर्धन, महत्त्वबोध, कृषि–उपजको व्यावहारिक ज्ञान सिकाउन पाठ्यक्रम तयार गर्दै छौं ।’

पाठ्यक्रममा लोप हुँदै जान थालेको मगर र छन्त्याल भाषा पनि समावेश गरिनेछ । ‘अहिले तमानखोलामा मगर, छन्त्याल भाषा एकदमै कम बोलिन्छ,’ बुढा भन्छन्, ‘चलनचल्तीमा रहेका शब्द पनि हराएर जाने अवस्था नआओस् भनेर ती भाषालाई प्राथमिकतासाथ समावेश गरेका छौं ।’ अहिले नै पाठ्यक्रममा मगर र छन्त्याल भाषालाई मुख्य बनाउन अप्ठ्यारो भएकाले ती भाषामा प्रयोग हुने शब्दबारे जानकारी गराइने उनले बताए ।

यहाँ मगर–छन्त्यालको सघन बस्ती रहेको र कुल जनसंख्यामा ३७ प्रतिशत उनीहरूको हिस्सा रहेको गाउँपालिकाले जनाएको छ । पाठ्यक्रममा पालिकाभित्रका ऐतिहासिक मठ मन्दिर, विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरूको जीवनी पनि समावेश हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung