नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छादारलाई उपस्थिति हुनका लागि लेखेको पत्र विशेष अदालतका कर्मचारीले उनको सुनसरीस्थित घरमा टाँसेर फर्किएका छन् ।
बालुवाटारस्थित ललितानिवास प्रकरणमा मुछिएका उनलाई १५ दिनभित्र उपस्थित हुनका लागि आदेश दिइएको थियो तर सम्पर्कमा नआएपछि सुनसरीस्थित घरमा सूचना टाँसिएको विशेष अदालत स्रोतले जनाएको छ।
२३ फागुनमा उक्त प्रकरणको सुनुवाई गरी अदालतमा उपस्थित हुन आदेश दिइएको थियो। तर उनले अदालतको पत्र नबुझेपछि घरमा टाँसेर म्याद तामेल गरिएको विशेष अदालतका उपरजिष्ट्रार तथा प्रवक्ता पुष्पराज पाण्डेयले बताए ।
‘म्याद टाँस गरिएको मितिले १५ दिन भित्रमा आउनुपर्छ र बयान दिनुपर्छ,’ उनले भने, ‘थप १५ दिन थमौतिको म्याद गरेर ३० दिन भित्रमा उहाँ आएर बयान नदिए फैसला हुन्छ।’
उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ माग दाबी गरेको छ । भ्रष्टाचार काण्डमा मुछिएका गच्छदारको सांसद पद निलम्बन गरिएको छ।
अदालतले फेला नपारेका गच्छादार भने केही महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा उपस्थित भएका थिए।
















































































































































































