२३ बैशाख २०८१, आईतवार

 

देशका यी प्रदेशमा भारी वर्षा, मौसमविद्ले दिए चेतावनी

सामुद्रिक आँधीको प्रभावले नेपालका कर्णाली, गण्डकी सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने भएको छ । मौसमविद्का अनुसार केही स्थानमा अति भारी वर्षा पनि हुने भएकाले नदीहरुमा आकस्मिक बाढी आउने र यातायात क्षेत्र प्रभावित हुन सक्ने छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले केही नदीहरुको बाढी सतर्कताको तहसम्म पुग्ने भन्दै तटीय क्षेत्रमा नजान सबैलाई आग्रह गरेको छ ।

मौसमविद शान्ति कँडेलका अनुसार सामुद्रिक आँधीको प्रभावले अहिले चितवन, म्याग्दी जिल्लासहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

‘आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना पनि छ,’ मौसमविद कँडेलले भनिन्, ‘बागमती प्रदेशमा आज चाहिँ भारी वर्षा हुँदैन तर भोलिको हकमा बागमती क्षेत्रमा पनि भारी वर्षाको सम्भावना छ ।’

यद्यपि पूर्वतिर पनि पानी पर्ने र हिमपात हुने भएकाले आज र भोलि दुई दिन देशभर नै सतर्कता अपनाउनुपर्ने मौसमविद कँडेलले जानकारी दिइन् । चक्रवातको प्रणाली र पश्चिमी वायुको प्रणाली आपसमा मिसिंदा आजको तुलनामा भोलि बढी वर्षा र हिमपात हुने मौसमविदहरुको पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहोस्