बागलुङमा प्रत्येक भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने ‘गाईजात्रा’ पर्व सोमबार स्वास्थ्य मापदण्ड पालना गरी आरम्भ भएको छ । एक वर्षयता दिवंगत भएका आफन्तको आत्माको शान्तिको कामना गर्दै देशैभरका नेवार समुदायले गाईजात्रा मनाउँछ्न् ।
निधन भएका परिवार सदस्यको सम्झनामा बागलुङमा सोमबार तायाः मचा बनाएर नगर परिक्रमा गरियो ।यस वर्ष सदरमुकाम बागलुङ बजारका नेवार समुदायका परिवारमा मृत्यु भएका १४ जनाको तायाः मचा बनाइएको हो । गाईजात्रा मृत्युसंस्कारसँग सम्बन्धित पर्व हो ।
रैथाने नेवार समुदायमा मृतकलाई मरेपिपल हुँदै दाहसंस्कारका लागि निरेघाट लैजाने भएकाले बिहान निकाल्ने ताया मचा पनि मरेपिपलसम्मै लगिन्छ। तायास् मचा देखाएपछि मृतकको आत्माले शान्ति पाउने भन्ने कथन छ ।
बजारको नारायणचोकबाट सुरु भई मरेपिपल परिक्रमा गरी पुनः नारायणचोकमा गएर पहिलो दिनको गाईजात्रा समापन गरिएको थियो ।मृतकको मृत्यु भएको दिनदेखि ताया मचा निकाल्नेृ दिनसम्म परिवारले मृतकको सम्झना विभिन्न मृत्यु संस्कार कार्याक्रम गर्छन । त्यसमध्ये ताया मचा नाच देखाउने दिन पनि विशेष दिन हो ।
६ सय वर्ष पुरानो गाईजात्रा
आख्यानअनुसार नेसं ५७५ मा राजा प्रताप मल्लका कान्छा छोरा राजकुमार चक्रवर्तीन्द्र मल्लको शीतला रोगका कारण मृत्यु हुन्छ। छोराको शोकमा डुबेकी रानी राजमतीलाई कसैले पनि फुल्याउन सक्दैन । रानीलाई सान्त्वना दिन राजा प्रतापले उक्त वर्षभरि जसको घरमा आफन्तको मृत्यु भएको हुन्छ, उसको नाममा झाँकीसहित गाईजात्रा निकाल्न उर्दी गर्छन् ।
त्यही बेलादेखि गाईजात्रा पर्व मनाउन सुुरु गरिएको मान्यता छ ।राजा मल्लले पुत्रशोकले विह्वल भएकी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन र उनको मन बुझाउन यस्तो चलन बसाएको इतिहासमा उल्लेख छ ।
कथनअनुसार देशवासीले मृतकका नाउँमा निकालेको झाँकीका कारण रानीलाई अनित्य संसारको ज्ञान भई आफ्नो छोरा मात्र गुमेको नभई अरूले पनि यस्तो शोक भोग्नुपर्दो रहेछ भन्ने बोध हुन्छ।
‘साँ यात’ अर्थात ‘गाईको यात्रा’
‘साँ यात’ अर्थात ‘गाईको यात्रा’ जयस्थिति मल्लको समयको गोपालराज वंशावली पत्र ६१० मा ‘साँ यात’ भनेर लेखिएको छ जुन भनेको ‘गाईको यात्रा’ हो । यो तथ्यले भने गाईजात्रा जयस्थिति मल्लको समयभन्दा पहिल्यै सुुरू भएको देखिन्छ ।लिच्छविकालमा मनोरञ्जनका लागि गोरु जुधाउने परम्परा पनि थियो । यसबारे अनन्तलिंगेश्वरको अभिलेखमा ‘गोयुद्ध’ उल्लेख छ ।
गाई यात्रालाई जात्राका रूपमा प्रचलनमा ल्याउन र संगीतको प्रयोग गर्न भने काठमाडौंका राजा प्रताप मल्ल, भक्तपुरका राजा जगतप्रकाश मल्ल र ललितपुरका राजा सिद्धिनरसिंह मल्लको पालामा सुरु भएको थियो ।
३ सय वर्षअघि काठमाडौंलगायत उपत्यकाका विभिन्न ठाउँबाट व्यापारको सिलसिलामा बागलुङ आई बसोबास गरेका नेवार समुदायले सँगै ल्याएको भाषा, कला, संस्कृति र जात्रालाई संरक्षण गर्दै आएका छन् ।१ वर्षभित्र आफन्तको मृत्यु भएका घरबाट गाईजात्राकै दिन प्रसाद बनाएर छरछिमेकीलाई खुवाउने चलन पनि छ ।
९५ वर्षदेखि लक्ष्मीनारायण देवताको तायाः मचा
विसं १९८३ अघिदेखि बागलुङ बजारमा गाईजात्रा वा तायाः मचा नाच चौधरी थरका नेवारहरूले बानपा ३ बुद्ध विहारबाट सुुरु गरेर नगरपरिक्रमा गर्ने चलन रहेको नेपाल भाषा मंका खल बागलुङका सदस्य जयराम भारीले बताए ।
बागलुङ नगरवासी टेकनारायण भारी, बहुदप्रसाद भारी ( मानकाजी भारी ), अश्विनीकुमार बझान्थाछेले पाल्पामा सञ्चालन हुने ऐतिहासिक तायाः मचा नाच हेरेर आएपछि उनीहरूकै पहलमा विसं १९८३ मा बानपा ३, नारायणचोकमा लक्ष्मीनारायण मन्दिर स्थापना गरी नारायण चोकबाट यो नाच सुरु गराएका थिए।
सबैभन्दा अगाडि लक्ष्मीनारायणको नामको तायाः मचा राखेपछि मात्र मृतकको सम्झनामा बनाइएको तायाः मचा राखिन्छ ।विसं१९८३ भन्दा अगाडि लक्ष्मीनारायणको ताय मचा बनाउने चलन थिएन ।
लक्ष्मीनारायणको मूर्ति बनारसमा बनाउन लगाएर बागलुङ ल्याइएको थियो ।गाईजात्राको बिहान लक्ष्मीनारायणको तायाः मचा बनाएर मन्दिरमा पूजा गर्ने चलन छ ।
सबैजना लक्ष्मीनारायण मन्दिरमा भेला भई बिहान गाईजात्रा निकालेर नगरपरिक्रमा गरी सोही स्थानमा ल्याई विसर्जन गर्ने परम्परा थालिएको नेपाल भाषा मंका खल बागलुङका सदस्य जयराम भारीले नयाँ विश्वलाई बताए।
यहाँ तायाः मचा बाँसबाट बनाइन्छ । हरियो बाँसलाई ठाडो पारेर आयताकारमा बाँधी कपडाले बेरेर तायाः मचा बनाइन्छ । तायाः मचामा पुरुष बितेको भए पुरुषको लुगा र महिला बितेको भए महिलाको लुगा झुन्ड्याएर राख्ने चलन छ । बच्चा बितेको भए डोकोमा च्याङ्ग्राको सिङ राखेर बनाउने चलन छ ।
तायाः मचाको शिरमा गाईको चित्र, मृतकको तस्बिर राखी चौँरी गाईको रौँ लगाउने चलन छ । यसलाई डोकोमा अड्याएर मृतकका आफन्तले काँधमा बोकेर नगर परिक्रमा गराइन्छ । तस्बिरबाट जात्रा हेर्न आएकालाई कुन मृतकको तायाः मचा निकालिएको हो, थाहा हुन्छ ।
मृतकको सम्झनामा निकालिने तायाः मचा नाच घरका छोरी वा बुहारीले पूजा गरेपछि मात्र निकाल्ने र विसर्जन गर्दा पनि छोरी वा बुहारीले पूजा गरेर समापन गर्ने चलन रहेको उनको भनाइ छ ।उनका अनुसार तायाः मचा नाच निकाल्नुअघि बिहान १ वा २ बजेको समयमा मृदंगना, झ्यालीसहित सांकेतिक बाजा बजाएर नगर परिक्रमा गरिन्छ ।
यसरी बाजा बजाएर बजार परिक्रमा गर्नुको अर्थ सबै मृतकका परिवारलाई आफ्नो तायाः मचा लिएर नारायण चोकमा भेला हुने सूचना हो ।
त्यसपछि सम्बन्धित घरबाट बिहान ४ बजे बजारको नारायणचोकमा तायाः मचासहित भेला हुने र नगरपरिक्रमा गर्ने चलन छ । त्यसै गरी दिउँसो पनि नारायण चोकमै भेला भई बजार परिक्रम गरिन्छ ।
तायाः मचा नाच संस्कृति संरक्षणमा नेवा नयाँ पुस्ता
बागलुङमा तायाः मचा नाच संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको नेपाल भाषा मंका खलका सचिव सुदिप राजभण्डारीले बताए । युवा पुस्ताको सक्रिय सहभागिताले संस्कृति हस्तान्तरण एवं जगेर्ना गर्ने काम पनि सघाउ पु¥याएको उनको भनाई छ ।
‘हामीले केही वर्षदेखि यस पर्वलाई व्यवस्थित गरेका छौ, र यस वर्ष पनि कोभिडका कारण सबैलाई स्वास्थ्य मापदण्ड पालन गर्न लगाएर मात्र तायाः मचा निकालेका छौ’ उनले भने ।तायाः मचा संरक्षण गर्न युवा सहभागिता बढाउने र तायाः मचा बनाउन मृतकको घरमा गएर सहयोग पनि गरेको नेवा ल्याम्ह पुच बागलुङका अध्यक्ष जय राजभण्डारीले बताए ।
प्रत्येक वर्ष तायाः मचा प्रत्येक मृतकको घरघर हुँदै बजार परिक्रममा गर्नु पर्ने र त्यहि मृतकको परिवारले प्रसाद वितरण गर्ने चलन भए पनि कोभिडको कारण यस पालि सो परम्परा स्थगित गरिएको छ ।
तायाः मचा नाच विसं १९८३ भन्दा पहिले राधाकृष्ण टोल, त्यसपछि शिवकुमार प्रधानको घरको आँगनबाट निकाल्ने चलन थियो । विस १९८३ मा नारायण चोकमा सरेको साहित्यकार प्रेम छोटोले जानकारी दिए ।
यसरी विस्तार भयो उपत्यका बाहिर गाईजात्रा
तायाः मचा नाच हरेक जिल्लामा फरकफरक खालको छ । ३६७ वर्षसम्म आर्थत आनन्ददेवदेखि यक्ष मल्लसम्मको समयमा नेपालको राजधानी भक्तपुर थियो । भक्तपुरमा गाईजात्रादेखि कृष्ण जन्माष्टमीको दिनसम्म डबली र टोलहरूमा गीत, नाटक, ख्याल प्रदर्शन गर्ने चलन छ ।
यक्ष मल्लको समयपछि काठमाडौं उपत्यका विभाजित भयो । ब्राहृमण चन्द्रशेखरको आग्रहमा राजा जगतप्रकाश मल्लले गाईजात्रामा नाचगान र बाजागाजाको प्रयोग गरेका थिए । यसरी गाईजात्रा धुमधामसँग मनाउन परम्परा बस्यो ।पछि यो परम्परा उपत्यका बाहिर पनि विस्तार भयो । यसको कथा भने अनौठो खालको छ ।
रणबहादुर शाहले बिफरको महामारीबाट रानी कान्तिवतीको मृत्यु भएको र छोरा गीर्वाणयुद्धको समेत मृत्यु नहोस भनि तीनै शहरका सबै बालबालिकालाई नेपाल उपत्यकाबाट बाहिर निकाले ।
त्यसरी निस्कासित परिवार बनेपा, पनौती, पोखरालगायत ठाउँमा गएर बस्न थालेको इतिहास छ । त्यहि घटनापछि बल्ल उपत्यका बाहिर गाई जात्रा पर्वको विस्तार भएको थियो ।त्यति बेला गण्डकी र धौलागिरि क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले यस नाचलाई यस क्षेत्रमा जोगाएर राखेका छन ।
तस्वीर : सुवाश आचार्य













































































































































































































