आर्य संस्कृति एवं हिन्दू परम्पराअनुसार वर्षभरिमा मनाइने चाडपर्वमध्ये कुशे औंसी पनि एक हो । यसलाई एक पवित्र पर्वको रूपमा पनि लिइन्छ । प्रत्येक वर्ष भाद्रकृष्ण औंसीका दिन यो पर्व पर्दछ । यसको भोलिपल्ट दर खाने र पर्सिपल्ट हरितालिका तीज मनाइन्छ ।
यी दुई दिन हिन्दु महिलाहरूको विशेष पर्व भएकाले प्रत्येक दाजुभाइले आफ्ना चेलीबेटीलाई औंसीकै दिन घर ल्याइसकेका हुन्छन् । तीज पर्वको प्रवेश कुशे औंसीबाटै हुने भएकाले यसलाई तीजे औंसी पनि भन्ने चलन छ ।
हिन्दु परम्पराअनुसार वर्षभरिमा गरिने देवकार्य, पितृकार्य एवं अन्य वैदिक कर्मकाण्डका लागि कुश नभइनहुने साधन हो । कुश बाबियाका जस्तो लामा–लामा पात गरेको एक हरियो घाँस हो । यो नेपालका कतिपय भूभागमा
प्राकृतिक रूपमै उम्रिएको हुन्छ भने कतिपय ठाउँमा बिरुवा सारेर हुर्काइन्छ । यो घाँसलाई विष्णु भगवान्को प्रारूप मानिन्छ । पौराणिक कथआनुसार परापूर्वकालमा महादेव र जालन्धरबीच युद्ध भएछ ।
असुरराज जालन्धरकी पत्नी एकपतिव्रता हुन्छिन् । उनको यही शक्तिका कारण जालन्धरलाई युद्धमा कसैले हराउन नसक्ने हुन्छ ।
यो बुझेपछि महादेवले छल गरेर भए पनि वृन्दाको पतिव्रता धर्म नष्ट गर्न विष्णुलाई आग्रह गर्छन् । यस्तो परामर्श पाएपछि विष्णुले वृन्दाको सत् डगाइदिन्छन् । त्यसपछि मात्र महादेवले जालन्धरलाई जितेर उसको वध गर्न सफल भएका थिए ।
यस्तो षड्यन्त्रपूर्वक पतिको वध गरिएको थाहा पाएपछि वृन्दाले विष्णुलाई श्राप दिन्छिन्– ‘तँ झार भएस्, (तुलसी बन्न पर्यो, तँ घाँस भएस् कुश बन्न प¥यो), तँ कल्पवृक्ष भएस् (पीपलको बोट बन्न प¥यो), तँ शिला भएस् (शालिग्राम बन्नुप¥यो) ।’ माथिका यी सबै चीजहरूको प्रादुर्भाव त्यसै समयपछि भएको धार्मिक विश्वास छ ।
विष्णुले वृन्दाबाट पाएको यस्तो श्रापबाट मुक्त हुन हालको मुक्तिनाथ क्षेत्रमा गएर घोर तपस्या गरेछन् । तपस्या गरेपछि श्रापमुक्त पनि भएछन् । त्यसै समयदेखि मुक्तिनाथको महिमा बढ्दै गएको हो ।
मुक्तिनाथ गएर त्यहाँका १०८ धाराको पानीले स्नान गर्ने, मन्दिरअगाडिका पापकुण्ड र पुण्यकुण्डमा स्नान गर्ने, मन्दिरभित्र रहेका भगवान्को दर्शन गर्ने हो भने हरप्रकारका दुष्कर्मबाट मुक्त भएर मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ ।
कुश विष्णु भगवान्कै प्रारूप भएकाले यो वनस्पति त्यसै समयदेखि जुनसुकै प्रकारका धार्मिक कर्मका लागि अभिन्न बन्दै आएको कुरा श्रीमद्भगवद् गीता, विष्णुपुराण, अथर्ववेद, गरुडपुराण आदिमा उल्लेख छ ।
हरेक वर्ष हिन्दूहरू आजको यस दिनमा पण्डितबाट मन्त्रोच्चारण गराई पवित्र भाबनाले काटिएको कुशको मुठा आआफ्ना घर भित्र्याउँछन् । पुरोहितलाई यसबापत सिदा र दक्षिणा दिन्छन् ।
कुशे औंसीलाई गोकर्ण औंशी पनि भनिन्छ । काठमाडौंको गोकर्णेश्वरमा गाईका जस्तै कान भएका महादेवको मूर्ति छ । त्यसैले यसलाई गोकर्णेश्वर महादेव भनिएको हो ।
एकपटक शिव–पार्वती हिमालय पर्वतबाट विलीन भएछन् । ब्रह्मा, विष्णु र अरू देवताले खोज्दै गर्दा उनीहरूलाई पशुपतिनाथको श्लेषमान्तक वनमा मृग र मृगिणीको भेषमा फेला पारेछन् । ब्रह्माले भाले मृगरूपी महादेवलाई समात्दा दुवै सिङ उनका हातमा आएछन् ।
महादेवले दुवै सिङ नेपालको कुनै एक स्थानमा शिवलिंगका रूपमा स्थापना गरिदिन भनेछन् । सोही अनुसार ब्रह्माले ती दुवै सिङलाई गोकर्णमा राखिदिएछन् । त्यही समयदेखि गोकर्णको महिमा बढ्दै गएको हो । कुशे औंसीका दिन त्यहाँ गएर महादेवको दर्शन र पितृका नाममा पिण्डदान गरे गयामा गएको भन्दा १० गुना बढी पुण्य प्राप्त हुने विभिन्न पुराणमा उल्लेख छ ।
नेपालका अरू विभिन्न तीर्थस्थलहरू जस्तै, देवघाट, कागवेणी, बराहक्षेत्र, त्रिवेणीघाट, धरानको पादुकास्थान आदिमा पनि यस औंसीका दिन भक्तजनहरूले स्नान, जप, ध्यान आदि गरी दिवंगत पितृका नाममा पिण्ड–तर्पण गर्छन् ।
कुशे औंसीलाई पितृ–पर्व अर्थात् बाबुको मुख हेर्ने दिनका रूपमा पनि चिनिन्छ ।
यस दिन छोराहरूले आआफ्ना पितालाई विभिन्न मिष्टान्न, अन्य उपहार, वस्त्रादि अर्पण गरेर आशिष् थाप्छन् । छोरीहरूले बाबाको हात समातेर अंकमाल गरी श्रद्धा व्यक्त गर्दै आशिष् थाप्छन् ।
यस क्रममा एकथरीले अर्को थरीलाई सुस्वास्थ्य, दीर्घायु, अटल सौभाग्य, ऐश्वर्य, आरोग्य, उत्तरोत्तर प्रगति आदिको आदानप्रदान गरिन्छ ।
पिता आकाशभन्दा पनि उच्च व्यक्ति भएका र हाम्रो धार्मिक परम्परामा आफ्ना आँखाले देख्न सक्ने ईश्वर पिता नै भएका हुनाले यस दिन हरेक नेपालीका घरघरमा पारिवारिक जमघट गरेर पिताप्रति श्रद्धा–सम्मान अर्पण गरिन्छ ।
नेपाली साहित्यिक क्षेत्रका तारा मोतीराम भट्टको जन्मदिन पनि कुशे औंसी नै हो । आदिकवि भानुभक्तलाई नेपाली जगत्मा परिचित गराउने पहिलो व्यक्ति हुन् मोतीराम ।
साहित्यिक जगत्मा आजको दिनलाई मोती जयन्तीका रूपमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाइन्छ । ३० वर्षको अति कलिलै उमेरमा यिनको मृत्यु भयो । साहित्यको क्षेत्रमा यिनको देन ठूलो रहेको हुनाले नेपाल र नेपाली समाजमा यी सदाका लागि अंमर छन् ।
यस दिन पिता नहुनेहरूले उनका नाममा चामल, आलु, दाल, नुन, खुर्सानी, अदुवा, घ्यु, मसला आदिको सिदा बनाएर सक्दो भेटीसहित पण्डितलाई दान गर्छन् ।
कतिपयले पिताको अनुहार स्मरण गर्दै दुःखी, असहायलाई धन–दौलत अर्पण गर्ने चलन पनि छ । दिवंगत आत्माको चिरशान्तिको कामनासहित गरिने यस्तो लोक–कल्याणकारी कामलाई स्वागतयोग्य मात्र नठानेर पुण्यजन्य एवम् कीर्तिमय कर्मका रूपमा लिन सकिन्छ ।
अतः कुशे औंसीको पवित्रता र परम्पराले हाम्रो समाजमा महत्त्वपूर्ण स्थान ओगट्दै आएकोमा कुनै अतिशयोक्ति नहोला ।













































































































































































































