६ जेष्ठ २०८१, आईतवार

 

आइटिएफ स्पाइरिङमा गण्डकीलाई स्वर्ण

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यहाँ जारी आइटिएफ तेक्वान्दाको स्पाइरिङतर्फ पहिलो स्वर्ण गण्डकी प्रदेशले हात पारेको छ ।

(४०–५०) तौल सूमहतर्फ आज भएको खेलमा कर्णाली प्रदेशका मिलन धामीलाई पराजित गर्दे गण्डकीका खगेन्द्र घर्तीमगरले स्वर्ण पदक जिते । कर्णालीका धामीले रजत पदक पाए । नेपाल आर्मीका पूर्णबहादुर मगर र लुम्बिनी प्रदेशका सन्तोष बुढा मगरले काँस्य पदकमा चित्त बुझाए ।

प्रतियोगिताका मिडिया संयोजक पुकार केसीका अनुसार योसँगै गण्डकी प्रदेशले जारी प्रतियोगितमा दुई स्वर्ण हाँसिल गरेको छ । यसअघि शनिबार भएको प्रतिस्पर्धामा ‘रेड बेल्ट’तर्फ एकल प्याटर्नमा गण्डकीका भीम गाहाले स्वर्ण पदक जितेका थिए ।

अहिलेसम्म भएका एकल प्याटर्न, टिम प्याटर्न र स्पाइरिङतर्फका खेलमा विभागीय टिम नेपाल आर्मीले सबैभन्दा बढी आठ स्वर्ण जितेर प्रतियोगितमा आफ्नो बर्चश्व बनाएको छ । तीन स्वर्णसहित बागमती प्रदेश दोस्रो स्थानमा छ ।

आइटिएफ नेपालका महासचिव अञ्जु रावतले आज विभिन्न तौल समूहमा स्पाइरिङतर्फका खेल भइरहेको जानकारी दिइन् । पुरुष टिम प्याटर्नमा स्वर्ण जित्ने नेपाली आर्मी र महिला टिम प्याटर्नमा स्वर्ण जित्ने बागमती प्रदेशका खेलाडीलाई आजै पदक वितरण गरिएको उनको भनाइ छ ।

बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, श्रीमेहर गणका गणपति देवभक्त माणी श्रेष्ठ र बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले विजेता खेलाडीलाई पदक र नगर पुरस्कार प्रदान गरेका थिए ।

बुधबारसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडी सहभागी छन् । आइटिएफ तेक्वान्दोमा ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदकका लागि खेलाडीहरु प्रतिस्पर्धामा छन् । स्थानीय बाङ्गेचौर खेल मैदानमा प्रतियोगिता चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्