१५ बैशाख २०८२, सोमबार

 

जेसीज कपको उपाधि गुठी युनाइटेडले जित्यो

बागलुङ । डिफेन्डिङ च्याम्पियन बागलुङ सुधार केन्द्रलाई ट्राइबेकरमा पराजित गर्दै ग्रेस गुराँस गुठी युनाइटेडले तेस्रो संस्करणको जेसीज कपको उपाधि जितेको छ ।

बागलुङ जेसीजले आयोजना गरेको ‘तेस्रो जेसीज कप फुटबल’को शनिबार सम्पन्न फाइनल खेलमा गुठीले उत्कृष्ट प्रर्दशन गर्दै उपाधि जितेको हो । बाङ्गेचउर खेल मैदानमा भएको खेलको निर्धारित समयमा दुवै तर्फको एक/एक गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा गुठीले ४–३ गोलको जित निकाल्दै उपाधि जितेको हो ।

खेलको दोश्रो हाफको ५६ औं मीनेटमा गुठीका विराज खत्रीले गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि त्यो खुशी भने लामो समय टिक्न सकेन । एक मीनेटमै बागलुङ सुधार केन्द्रका अफ्रिकन खेलाडी अबेक रिचार्जले ५७ औं मीनेटमै गोल फर्काएर खेललाई बराबारी बनाएका थिए ।

फाइनल खेलमा गुठीका गोल किपर सौगात खड्का मेन अफ द म्याच घोषित भए । अतिरिक्त समयमा पनि खेल बराबरी भएपछि उपाधिको छिनोफानो पेनाल्टी सुटआउटबाट भएको हो ।

खेल जितेर गुठीले २ लाख नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पायो । गण्डकी प्रदेशसभाका सदस्य तथा पूर्व मन्त्री दिपेन्द्र बहादुर थापाले खेलाडीलाई ट्रफी प्रदान गरेका थिए । उपविजेता बनेको बागलुङ सुधार केन्द्रले १ लाख नगद पुरस्कारमा चित्त बुझायो । खेलमा ११ टिमले भाग लिएका थिए । जेसीज कपमा बागलुङ सुधार केन्द्रका निसान थापा उत्कृष्ट खेलाडी घोषित भए । गुठीका गोल किपर सौगात खड्का उत्कृष्ठ गोलरक्षक, सुधार केन्द्रका रोशन क्षेत्री उत्कृष्ट स्ट्राइकर, गुठीका संगीत छन्त्याल उत्कृष्ट डिफेन्डर, सुधार केन्द्रका सुशिल लामा उत्कृष्ट मिड फिल्डर घोषित भए । गुठीकै मनिष श्रेष्ठले सर्वाधिक गोलकर्ताको पुरस्कार जित । बिधागत उत्कृष्ट हुने खेलाडीले पनि नगद पुरस्कार पाएको बागलुङ जेसीजका अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले बताए । म्याग्दी जिल्ला फुटबल संघ अनुशासित टिम घोषित भयो ।

शुक्रबार भएको सेमीफाइनल खेलमा बलेवा एफसीलाई पराजित गर्दै ग्रेस गुराँस गुठी युनाइटेड र पर्पल हेज एभिएमलाई ट्राइबेकरमा हराएर साबिक विजेता बागलुङ सुधार केन्द्र फाइनल प्रवेश गरेको थियो । खेलमा नेपाल आर्मीको श्रीमेहरगण र जिल्ला प्रहरीको टिम भने क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung