२० जेष्ठ २०८३, बुधबार

 

३८औँ ब्रह्मोत्सवको अवसरमा कुँडुलेमा श्रीशालग्राम महोत्सव सुरु

बागलुङ । बागलुङ नगरपालिका – ४ कुँडुले फेदीस्थित श्रीरंगवैकटेश मुक्तिनारायण मन्दिरको ब्रह्मोत्सवको अवसर पारेर श्रीशालग्राम महोत्सव सुरु भएको छ । ३८औँ ब्रह्मोत्सवको अवसरमा श्रीशालग्राम महोत्सव बैशाख १७ गतेदेखि २१ गतेसम्म संचालन हुने मन्दिरका अध्यक्ष तथा शालग्राम संग्राहलयका संरक्षक स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी दिनुभयो ।

महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले धर्म र संस्कृतिको रक्षा र शालग्राम शिलाको संरक्षणका लागि सबै सरोकारवालाको ध्यान जानुपर्ने बताउनुभयो ।

प्रत्येक दिन कालिगण्डकी दोहनले शालग्राम शिला लोप हुने खतरा बढेको भन्नु हुँदै शालग्राम संरक्षण गरी जिल्लालाई धार्मिक पर्यटकिय गन्तव्यको रुपमा चिनाउनका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । पाठकले नदीजन्य पदार्थ निकाल्दा शालग्रामको संरक्षणमा ध्यान पुर्याउने पर्ने धारणा व्यक्त गर्नुभयो ।

यस्तै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले धर्म, परम्परा र संस्कृतिसँग जोडिएको शालग्राम संरक्षण गरेर समग्र जिल्लालाई मुक्तिक्षेत्र तथा धार्मिक पर्यटकिय गन्तव्य बनाउनुपर्ने बताउनुभयो । उहाँले शालग्राम संरक्षणसँगै संस्कृत भाषा र नैतिक शिक्षाको पनि सबैले पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

महोत्सव अन्र्तगत दैनिक पाठ पारायण, रामायण प्रवचन, रामायण वाचन, शालग्रामको महत्व बारे चर्चा परिचर्चा,यज्ञ हवन, विद्धान गुरुजनहरुबाट प्रवचन लगायतका कार्यक्रम रहेको स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो । उहाँका अनुसार शालग्राम शिला र शालग्राम पाईने एकमात्र नदी कालिगण्डकीको महत्ववारे पनि चर्चा हुने छ । महोत्सव अवधिभर भारतको अयोध्यादेखि आउनुभएका श्री १ हजार ८ स्वामी बालकृष्णाचार्य लगायतले रामायण प्रवचन गर्नुहुने छ ।

कार्यक्रम श्रीरंङ्गवैकटेश मुक्तिनारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा शालग्राम संग्राहालयका संरक्षक स्वामी ऋषि प्रपन्नाचार्यको अध्यक्षता, उपाध्यक्ष हरिप्रसाद उपाध्यायको संचालन र मुक्तिनाथ वेद विद्याश्रम संस्कृति विद्यालयका प्रधानाध्यापक जगन्नाथ रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung