७ जेष्ठ २०८१, सोमबार

 

गोर्कणेश्वर नगरपालिकाद्वारा अतिरिक्त विषयकाे आफ्नै पाठ्यक्रम तयार

 

राजधानीको गोर्कणेश्वर नगरपालिकाले नगरक्षेत्रका विद्यालयलाई लक्षित गरी अतिरिक्त विषयका रुपमा आफ्नै पाठ्यक्रम तयार गरेर लागु गरेको छ । नगरपालिकाका अनुसार नगरक्षेत्रमा कुल ८४ विद्यालय संचालनमा रहेकोमा सबै विद्यालयमा नगरपालिकाले तयार पारेको पाठ्य पुस्तक अनिवार्य रुपमा अध्ययन–अध्यापन शुरु भएको छ ।

नगरपालिकाका प्रशासकिय अधिकृत उपसचिव अग्नी अधिकारीले नगरपालिकाले नमुना काम गरेको बताए । उनले नगरपालिकाको अग्रसरतामा कक्षा १ देखि ८ सम्मका पाठ्यपुस्तक तयार गरेर लागु गरेको बताए । करिब २४ हजार विद्यार्थीले नगरक्षेत्रका ८४ विद्यालयमा अध्ययन गरिरहेको जानकारी अधिकारीले गराए । उनले भने ‘ स्थानीय जनप्रतिनिधीको तत्परतामा यो कार्य संभव भएको हो ।’ हालको गोर्कणेश्वर नगरक्षेत्र नै वागमती नदीको मुहान रहेकोले  पाठ्यक्रममा बागमतीको सभ्यतालाई जोड दिईएको उनले जानकारी गराए । त्यसका अतिरिक्त ऐतिहासिक महत्वमा स्थल, व्यक्ती, व्यक्तीत्व, साहित्य, प्रकृती लगायतका विषयलाई पाठ्यक्रममा समावेश गरिएको छ ।

अधिकारीका अनुसार मौलिकतालाई जर्गेना गर्न शैक्षिक पाठ्यक्रम बनाएर लागु गरिएको हो । नेपाली र अंग्रेजी माध्याममा पाठ्य पुस्तक तयार गरी सबै विद्यालयहरुमा उक्त पाठ्यक्रम अध्यापन भैरहेको छ । नगरक्षेत्र भित्र १६ सरकारी तथा सामुदायिक विद्यालय रहेका छन । ती विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सरकारले उपलब्ध गराएका अन्य विषयका पाठ्यपुस्तक जस्तै नगरपालिकाले तयार गरेको अतिरिक्त विषयको पाठ्यपुस्तक पनि निःशुल्क उपलब्ध गराएको छ ।

नयाँ संरचनामा स्थानीय सरकारलाई पाठ्यपुस्तक तयार गरेर लागु गर्नेसम्मको अधिकार रहेको छ । त्यही अधिकारलाई उपयोग गर्दै नगरपालिकाले देशभरका ७ सय ५३ स्थानीय सरकार मध्ये अग्रणी भएर आफै पाठ्यक्रम निर्माण गर्न र निर्माण भएको पाठयक्रम लागु गर्न सफल भएको छ । नगरपालिकाले शिक्षाक्षेत्रमा गरेको नमुना कार्य अरुका लागि पनि अनुकरणीय हुनसक्ने देखिन्छ ।

निजी विद्यालयका विद्यार्थीले भने पुस्तक खरिद गर्नुपर्ने व्यवस्था गरिएको छ । पाठयपुस्तक तयार गरेर विक्रि वितरण गर्दा नगरपालिकालाई वार्षिक करिब ५ लाख रुपैयाँ आम्दानी समेत भैरहेको अधिकृत अधिकारीले बताए । तह अनुसार पाठ्य पुस्तक फरक फरक मुल्य निर्धारण गरिएको र छपाई तथा विक्रि वितरणको निजी प्रकाशन गृहसँगको सम्झौता अनुसार गरिएको उनले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्