मुसीकोट नगरपालिकाको आइतबार सम्पन्न छैटौं नगरसभाले विभिन्न विधेयक पारित गरेको छ ।
पारित विधेयकमा सार्वजनिक खरिद नियमावली २०७४ लाई संशोधन गर्न बनेको विधेयक–२०७६, वातावरण तथा प्राकृतिक स्रोतको संरक्षणसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७६, जोखिमयुक्त बस्ती स्थानान्तरण तथा पुनःस्थापनासम्बन्धी कार्यविधि–२०७६, मुसिकोट नगरपालिकाको जग्गा लिजमा लिनेसम्बन्धी कार्यविधि–२०७६, नगरपालिकाको विनियोजन ऐन–२०७६ लाई संशोधन गर्न बनेको विधेयक–२०७६ र नगर शिक्षा ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक–२०७६ छन् ।
विधेयकमाथिको दफावार छलफलमा सभासद्हरू पूर्णबहादुर हितान, पूर्णबहादुर थापा, गोविन्द खरेल, शंकर परियार, नरबहादुर खत्री, रेणु सापकोटा, शंकर रायमाझी, लक्ष्मण खराल, दलबहादुर थापालगायतले सुझाव तथा टिप्पणी राखेका थिए ।
पुस २५ बाट सुरु भएको सभाले चालू वर्षको ४ करोड ९६ लाख १९ हजार बजेट संशोधन गरी पुँजीगत खर्चमा रकमान्तर गरेको छ । नगरको गौरवका रूपमा रहेका आँपचौर प्राविधिक शिक्षालय, मुसिकोट दरबारलगायत योजनामा उक्त बजेट छुट्ट्याइएको नगरपालिकाका सूचना अधिकृत समुन्द्र रायमाझीले जानकारी दिए ।



















































































































































































































