बगाले थापाहरूको बाहुल्य रहेको गलकोट नगरपालिका–७ मल्ममा राष्ट्रिय विभूति अमरसिंह थापाको अर्धकदको सालिक निर्माण हुने भएको छ ।
आगामी चैत दोस्रो हप्ता गलकोटमा हुन लागेको राष्ट्रिय बगाले थापा सम्मेलनलाई लक्ष्यित गरी सालिक बनाउन लागिएको बगाले थापा समाजका केन्द्रीय प्रतिनिधि छुमबहादुर थापाले जानकारी दिए ।
मल्म सानो खोलादेखि बगाले थापा कुल मन्दिर, राम्चे ढुंगा हुँदै पर्यटकीय स्थल घुम्टे जोड्ने अमरसिंह पदमार्गमा सोमबारदेखि सालिक निर्माण थालिएको हो । यसका लागि बगाले थापा समाज बेलायतले १ लाख ७० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको समाजका सदस्य रामबहादुर थापाले जानकारी दिए ।
चैत १३ र १४ गते गलकोटमा सात सय बगाले थापा समाजको आयोजनामा हुन गइरहेको सम्मेलनमा देशभरका बगाले थापाहरूको गलकोटमा जमघट हुँदै छ ।



















































































































































































































