अमेरिकी सरकारको आर्थिक सहयोगमा संचालति दातृ निकाय ‘युएसएआइडी’ र एशियाली बिकास बैंकको सहयोगमा भुकम्प पछिको विद्यालय निर्माण अभियान अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा निर्माण समपन्न दुई विद्यालय भवन स्थानीय समुदायलाई गतसाता हस्तान्तरण गरिएको छ । अमेरिकी दूतावासका अनुसार हस्तान्तरण गरिएका दुई विद्यालय सुर्यकिरण र श्री प्राथमिक विद्यालय रहेका छन् ।
दूतावासले आफ्नो समाजिक संजालमा उक्त जानकारी गराउदै ‘थप दुई नवनिर्मित तथा भूकम्पीय दृष्टिले सुरक्षित, सुसज्जित र बालबालिका तथा अपाङ्गतमैत्री प्राथमिक विद्यालय भवनहरू सिन्धुपाल्चोक जिल्लाका समुदाय हस्तान्तरण गर्न पाउँदा हामी गौरवान्वित र खुशी महशुष गर्दछौं’ भनेको छ ।
भूकम्पबाट अति प्रभावित सात जिल्लामा अमेरिकी युएसएआइडीले जिल्लामा २९ वटा प्राथमिक र केही माध्यमिक विद्यालयहरू निर्माण गर्नै जिम्मेवारी पाएको छ । दूतावासका अनुसार हस्तान्तरण गरिएका दुई विद्यालयसँगै अहिलेसम्म १५ विद्यालय समुदायमा हस्तान्तरण भइसकेका छन् । सम्पन्न भएसँगै बाँकी विद्यालय पनि यसैगरी समुदायलाई छिट्टै हस्तान्तरण गरिने छ । २९ विद्यालयमा मात्र ८ हजार ८ सय विद्यार्थी अध्ययनरत छन् । साथै भविष्यमा थप विद्यार्थी पनि विद्यालयमा अध्ययन गरेर उज्ज्व भविष्यका दाबेदार बन्ने विश्वास अमेरिकी सरकारले लिएको दूतावासले जनाएको छ ।
दुई देशीय सहयोग कार्यक्रम अन्तर्गत शिक्षा र स्वास्थ्यमा अमेरिकी सरकारले ५ दशकदेखि सहयोग गर्दै आएको छ । उक्त सन्दर्भलाई स्मरण गर्दै दूतावासका तर्फबाट भनिएको छ ‘अमेरिकी सरकार नेपाली जनताको शिक्षामा पहुँच बढाउने र भूकम्पपछिको पूनर्निर्माण अझैं सुरक्षित बनाउने अभियानमा हरसम्भव सहयोग गर्न प्रतिवद्ध छ।’ विद्यालय भवनको हस्तान्तरित कार्यक्रमपछि स्थानीय बासिन्दाले आफ्ना बालबालिकाले सुबिधा सम्पन्न विद्यालय भवनमा बसेर अध्ययन गर्न पाउँदा भविष्यमा उनीहरूले शिक्षाले ल्याएको परिवर्तन महशुस गर्न पाउने विश्वास गरेका छन् ।
तस्बीर : अमेरिकी दूतावास



















































































































































































































