५ जेष्ठ २०८१, शनिबार

 

पर्यटन पदमार्ग तयार

गलकोट नगरपालिका–७ मल्ममा अमरसिंह पर्यटन पदमार्ग निर्माण गरिएको छ । फल्लारुखदेखि सात सय बगाले थापा समाजको कुल मन्दिरसम्म २५० सिँढीको पर्यटन पदमार्ग बनाइएको निर्माण उपभोक्ता समितिका अध्यक्ष थुमा थापाले जानकारी दिए ।

३ लाख ५८ हजार ३ सय रुपैयाँको लागतमा थापा बन्धुहरूले उक्त पदमार्ग बनाएको सचिव टोपबहादुर थापाले बताए । १ लाख १५ हजार बराबरको काम श्रमदानबाट भएको थियो । समाजले पदमार्ग निर्माणपूर्व प्राविधिक सर्भे खर्चका लागि २२ हजार र फाउन्डेसन तयार गर्न ४० हजार थप खर्च गरेको थियो ।

गलकोट–७ को योजनाअन्तर्गत अमरसिंह पर्यटन पदमार्गले मल्म, सानोखोलादेखि बगाले थापा कुल मन्दिर, राम्चे ढुंगा हुँदै घुम्टे जोड्ने लक्ष्य छ । सोही अनुरूप आर्थिक वर्ष २०७६/०७७ को नगद रु ३ लाख बजेटबाट १ सय २७ वटा सिँढी निर्माण गरिएको थियो । सात सय बगाले थापा समाजले यही चैत १३ र १४ गते आयोजना गर्ने भनिएको राष्ट्रिय बगाले थापा सम्मेलनलाई लक्षित गरी पदमार्ग बनाइएको थियो । यद्यपि अहिले कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखी राष्ट्रिय सम्मेलन अनिश्चित कालका लागि स्थगन गरिएको समाजले जनाएको छ ।

पदमार्ग निर्माणपछि पर्यटकीय स्थल राम्चे ढुंगा, गलकोट नगरपालिका १० पाण्डवखानी होम स्टे र पर्यटकीय गन्तव्य घुम्टे पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ । पदमार्गमा राष्ट्रिय विभूति अमरसिंह थापाको अर्धकदको सालिकसमेत निर्माण भइरहेको छ । समाजले १ लाख ७० हजारको लागतमा सालिक निर्माण गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्