१६ कार्तिक २०८३, आईतवार

 

कोरोनाले श्वासप्रश्वासमा समस्या देखिएपछि मेयर साहलाई काठमाडौं रिफर

कोरोना संक्रमण भएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेशकुमार साहको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि बुधबार काठमाडौं रिफर गरिएको छ । प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहका छोरा उनलाई मंगलबार कोरोना पुष्टि भएको थियो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजिटिभ आएपछि उनलाई जनकपुरधामस्थित कोभिड अस्पताल भर्ना गरिएको थियो ।

मेयर साहमा श्वासप्रश्वासको समस्या बढ्दै गएपछि काठमाडौं रिफर गरिएको कोभिड अस्पतालका फोकल पर्सन डा रामदेव चौधरीले जानकारी दिए ।

उनका अनुसार साहलाई निमोनियाको समस्यासमेत देखिएको छ । कोभिड अस्पतालमा भेन्टिलेटरको अभाव रहेकाले उनलाई काठमाडौंस्थित ह्याम्स अस्पतालमा रिफर गरिएको चौधरीले बताए ।

‘नगरप्रमुख साहको अवस्था अहिले सामान्य नै छ तर भेन्टिलेटरको आवश्यकता पर्ने भएकाले काठमाडौं रिफर गरेका हौं,’ उनले भने, ‘काठमाडौं लैजान भेन्टिलेटरसहितको एम्बुलेन्स छ ।’ साहसँगै उनका चालकमा समेत कोरोना पुष्टि भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung