गुल्मी, बागलुङ र प्युठानको सिमाना हो बल्देधुरी । यहाँ बर्सेनि होलीमा विशेष चहलपहल हुन्छ । मेला नै लाग्छ । यसपालि पनि पनि वरपरका आफन्त, दाजुभाइ उसै गरी जम्मा भए । रंग दलिदिँदै खुसी साटासाट गरिरहेका थिए ।
बडिगाड–१० दर्लिङका स्थानीयको पायक पर्ने ठाउँ भएकाले बढीजसो उनीहरू नै जम्मा भएका थिए । आइतबार बिहान १० बजेदेखि नै चहलपहल थियो । स्थानीयका अनुसार तीनै जिल्लाका गरी करिब ६ सय जना उपस्थित थिए ।
दिउँसोतिर निसीखोला गाउँपालिका–७ राजकुतबाट एक हुल मानिस दर्लिङ पुगे । मदिराले लट्ठिएका उनीहरूले त्यही सुरमा स्थानीय भानु माविको भवन बनाउन आएका कामदारलाई लछारपछार गरे ।
अर्का एक युवकलाई कुटपिट पनि गरे । त्यसको एक घण्टापछि उनीहरू बल्देधुरी पुगे जहाँ स्थानीय होली मनाइरहेका थिए । त्यहाँका युवा पनि मदिरामा लट्ठिएर नाचगान गरिरहेका थिए ।
राजकुतबाट २५ जनाको समूह पुगेको थियो । प्रत्यक्षदर्शीका अनुसार राजकुतबाट आएकाहरूले दर्लिङका युवायुवतीलाई जबर्जस्ती रंग लगाइदिन थाले ।
त्यस क्रममा सामान्य भनाभन हुँदै विवाद बढ्न थाल्यो । दर्लिङका एक स्थानीय विवाद मिलाउन अघि सरे तर स्थिति झडपमा बदलियो । होलीको नाचगान गर्न गएकाहरू तितरबितर भए ।
मदिराले मातिएका दुई समूहबीच करिब १ घण्टा ठेलमठेल चल्यो । यति बेलासम्म राजकुतबाट आएकाहरूले गाउँका युवकलाई कुटपिट गरेको खबर फैलिइसकेको थियो ।
अर्को गाउँबाट आएर यहाँ शासन चलाउने भन्दै स्थानीय आक्रोशित भए । सार्वजनिक भएको भिडियोमा स्थानीयले भनेको सुनिन्छ– ‘यहाँ लड्न आएको हो ? लौ मारौं नि बरै !’
सामान्य भनाभनबाट सुरु भएको विवाद अब हिंसामा बदलियो । उल्लास मनाइँदै गरेको स्थान अचानक रणभूमि बन्न पुग्यो । कुटपिटपछि केहीले ज्यान जोगाउन भिरबाट हाम फाले, केही जंगलतिर भागे ।
केही समयपछि झगडा भएको स्थानभन्दा ५ सय मिटर तल निसीखोला–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको शव भेटियो । दुवैको शव पोस्टमार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य चौकीमा राखिएको छ ।
बडिगाड गाउँपालिका–१० का वडाध्यक्ष वीरेन्द्र बुढा घटनाका दोषीमाथि कारबाही हुनुपर्ने बताउँछन् । ‘प्रहरीसँग मिलेर घटनाका विषयमा बुझ्ने क्रम चलिरहेको छ,’ उनले भने ।
बेपत्ता भनिएका मध्ये ६ जना घाइते
आइतबार दिउँसोको झडपपछि भिरबाट हाम फालेका भनिएका युवकहरू सम्पर्कमा आएका छन् । बागलुङका एसपी कृष्णबहादुर पल्ली मगरले निसीखोलातर्फका घाइते ६ जना सम्पर्कमा आएको बताए । ‘एक जनाको अवस्था अन्यको भन्दा अलि गम्भीर छ,’ उनले भने ।
रंग दल्ने विषयमा विवाद हुँदा घटना भएको देखिने एसपी मगरले बताए । ‘अहिले गाउँमा प्रहरी पठाएका छौं, गाउँका मान्छेले हामीले होइन भनेका छन् । तर गाउँका धेरै मान्छे यसमा मुछिएको हुनुपर्छ,’ उनले भने ।
केही दिनमै सत्यतथ्य बाहिर ल्याउने उनले बताए । घटनापछि जिल्लाबाट एसपीसहितको टोली घटनास्थलमै पुगेर अनुसन्धान गरिरहेको छ ।
झडपमा घाइते भएका निसीखोलाका ३२ वर्षीय ज्ञानु दमाईले कुटपिटपछि भिरमा हाम फालेर बाँचेको बताएका छन् । ‘हामी त्यहाँ गएपछि दुवैतर्फ झडप भयो, अवस्था झनै चर्किएपछि म भिरबाट हाम फालेँ,’ उनले भने, ‘अड्किने ठाउँ थिएन, घाँसको बुट्यान समातेँ तर अन्त्यमा ज्यागेट रूखमा अड्किँदा ज्यान बच्यो ।’
कहाँ चुक्यो प्रहरी ?
बर्सेनि मेला लाग्ने भएकाले होलीका दिन इलाका प्रहरी कार्यालय बुर्तिबाङले बल्देधुरीमा प्रहरी खटाउने गरेको थियो । तर यसपालि त्यहाँ प्रहरीको कुनै टोली पुगेन ।
प्रहरी निरीक्षक प्रकाश भण्डारीको सरुवा भएपछि ढोरपाटन, बडिगाड, निसी र तमानखोलासम्मको सुरक्षा हेर्ने उक्त कार्यालय अहिले नेतृत्वविहीनजस्तै छ । प्रहरी प्रधान कार्यालय काठमाडौंले सीआईबीका जयराम वन्तलाई खटाए पनि उनी कार्यक्षेत्र पुगिसकेका छैनन् ।
होलीका दिन स्थानीयबीच झडप हुने गरेकैले तीन वर्षअघिदेखि त्यहाँ इलाका प्रहरीले टोली खटाउने गरेको थियो । यस वर्ष कार्यालय नेतृत्वविहीन भएकैले यस्तो अप्रिय घटना भएको बुर्तिबाङबासीको भनाइ छ ।
बागलुङ प्रहरीका सूचना अधिकारी एवम् डीएसपी इकवाल हवारीले वन्तको सरुवा भए पनि अहिले उनी बिदामा रहेको नयाँ विश्वलाई बताए ।
कांग्रेसद्वारा घटनाको निन्दा
होली मेलामा भएको झडपमा परी मृत्यु भएका कुँवर नेपाली कांग्रेसका जिल्ला सदस्य भएको खुलेको छ । उक्त घटनाको कांग्रेसले निन्दा गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी दोषीलाई कारबाहीको माग गरेका छन् ।
‘घटनामा प्रकाश कुँवर र दीपक नेपाली दुई युवकले जीवन गुमाएका छन् । कुँवर नेपाली कांग्रेस बागलुङका जिल्ला सदस्यसमेत हुन्,’ विज्ञप्तिमा उल्लेख छ, ‘बागलुङ जिल्लाको गुल्मी र प्युठानसँगको सिमाना बल्देधुरीमा आइतबार भएको अमानवीय घटना अत्यन्तै निन्दनीय छ ।’
घटनाका पछाडि षड्यन्त्र हुन सक्ने आशंकासमे कांग्रेसले गरेको छ । ‘होली खेल्ने क्रममा नै भएको असमझदारी र आवेगको परिणाममा दुई युवाको हत्या भएको हो या यसका पछिल्तिर योजनाबद्ध षड्यन्त्र छ, यसको गहिरो अनुसन्धान गर्न तथा दोषीहरूलाई अविलम्ब पक्राउ गर्न नेपाली कांग्रेस सरकारसमक्ष माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
नयाँ विश्वमा प्रकाशित याे पनि हेर्नुहाेस् :
बागलुङ घटनाका दोषीलाई पक्राउ गरी कारबाही गर्न कांग्रेसको माग
बागलुङ होली घटना : मृतक दुई जनाको शव पोष्टमार्टमका लागि अस्पताल लगियो
बागलुङ घटना : अनुसन्धानका लागि एसपीको टोली घटनास्थलतिर प्रस्थान
बागलुङमा होली मनाउने विषयमा झडप, भीरमा भेटियो दुई जनाको शव
होली लगाउने विषयमा बागलुङमा झडप, १५ जना भिरबाट खसेको आशंका (भिडियोसहित)
दर्लिङमा दुई युवा समूहबीच झडप, १५ जना बेपत्ता भएकाे आशंका



















































































































































































































