ढोरपाटन नगरपालिका–४ की ६६ वर्षीया महिलाको वैशाख २८ गते कोरोनाले धौलागिरि अस्पतालमा मृत्यु भयो । २७ गते अपराह्न साढे ४ बजे अस्पताल भर्ना भएकी उनले श्वासप्रश्वासमा गम्भीर समस्या हुँदा पनि आईसीयू पाइनन् । उनको स्वाब परीक्षण नै भोलिपल्ट ७ बजे मात्र गरियो । त्यसको केही समयमै ज्यान गयो ।
जिल्लामा गम्भीर संक्रमितले आईसीयू नपाएको घटना यो एउटा मात्र होइन । वैशाख २९ गते पनि धौलागिरिमा आईसीयू र भेन्टिलेटर खाली नभएपछि बडिगाड–६ का ४० वर्षीय पुरुषलाई हेलिकप्टरबाट पोखरा लगियो ।
घरमै आइसोलेसनमा बसिरहेका उनको श्वासप्रश्वासमा समस्या आएपछि उनलाई मनाङ एयरको हेलिकप्टरमा ४ लाख ३० हजार भाडा बुझाएर पोखराको मणिपाल अस्पताल लगिएको थियो । यस्तै वैशाख ३० गते बागलुङ नगरपालिका–४ का ७७ वर्षीय पुरुषको अस्पतालकै आइसोलेसनमा मृत्यु भयो । उनले पनि आईसीयू पाएनन् ।
गम्भीर प्रकृतिका संक्रमितको संख्या ३३ जना पुग्यो
अस्पतालमा जम्मा ३ आईसीयू बेड र तिनलाई सपोर्ट गर्न चारवटा भेन्टिलेटर मात्र छन् । यस्तोमा कडा लक्षण देखिएका बिरामीहरूलाई कहाँ लैजाने भन्ने तनाब उनीहरूका आफन्तमा देखिन्छ ।
अहिले धौलागिरि अस्पतालमा गम्भीर प्रकृतिका संक्रमितको संख्या ३३ पुगेको छ । ३ जना आइसीयूमा, आइसोलेसनमा भएको १ जनालाई भेन्टिलेटरको सर्पोटमा,आइसोलेसनमा ३४ जना,आइसोलेसनमा बेड नपुगेर १० जनालाई इमर्जेन्सी वार्डमा राखिएको छ ।
इमर्जेन्सी वार्डमा राखिएका ६ जनाको कोरोना रिर्पोट आउन बाँकी छ । तीमध्ये ६ जना तत्काल आईसीयूमा राख्नुपर्ने अवस्थाका रहेको अस्पतालले जनाएको छ ।
आइसोलेसनका २५ जनाभन्दा धेरै विरामीहरुलाई उच्च गतिको अक्सिजन
श्वासप्रवासमा समस्या देखिएका आइसोलेसनमा राखिएका २५ जनाभन्दा धेरै विरामीहरुलाई उच्च गतिको अक्सिजन दिइएको छ । आइसोलेसनमा राखिएका धेरै विरामीहरुलाई आइसीयूमा राख्नु पर्ने खालको रहेको अस्पतालको सूचना अधिकारी प्रमिला ढकालले जानकारी दिइन् ।
अस्पताल प्रशासन, जिल्ला कोभिड विपद् व्यवस्थापन समिति, जिल्ला स्वास्थ्य कार्यालय र पालिकाहरूले भरपर्दो आपत्कालीन संयन्त्र नबनाउँदा अस्पतालमा उपचार गराइरहेका र होम आइसोलेसनमा रहेका गम्भीर बिरामीहरूको जीवन संकटमा छ ।
बिहीबार एकै दिन धौलागिरिको आईसीयू र आइसोलेसनमा रहेका चार संक्रमितको मृत्यु भएको थियो । यससँगै आइतबारसम्म मृतकको संख्या २३ जना पुगेको छ ।
पोखरामा अक्सिजन भर्न १२ घण्टा कुर्नु परेपछि
जिल्लामा दैनिक सय जनाका दरले संक्रमित थपिँदै छन् । अहिले अस्पताल कोरोना बिरामीले भरिएपछि अक्सिजनको चरम अभाव हुन थालेको छ ।
अक्सिजन प्लान्टले आपूर्ति गर्ने अक्सिजनबाहेक दैनिक एक सय बिस वटा सिलिन्डर प्रयोग हुँदै आएको छ । पोखराबाट अन्नपूर्ण सजिर्कल सप्लार्यसको गाडीले दैनिक तीन–चारपटक अक्सिजन ल्याइरहेको छ ।
पोखरामा अक्सिजन भर्न १२ घण्टा कुर्नु परेपछि आपूर्ति तत्काल नभएर झन् समस्या थपिएको छ । अहिले एउटा गाडीलाई पोखराबाट अक्सिजन ल्याउन दैनिक १७ घण्टा लाग्ने गरेको छ ।
अस्पतालमा अक्सिजनको आपूर्ति समयमै नहुने समस्या बढे विरामीको ज्यान जोखिममा पर्न सक्ने अस्पतालका मेसु डा. शैलेन्द्र पोखरेलले नयाँ विश्वलाई जानकारी दिए । अर्कातर्फ संक्रमितहरू अझै उपचारको पहुँचमा छैनन् ।
अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु
२५ दिनअगाडि गलकोट नगरपालिका–६ जमुना डाँडागाउँका ४० वर्षीय पुरुषले गलकोट, हटियाको पसलबाट आफूखुसी औषधि किनेर खाएकामा कडा खालको श्वासप्रश्वाससम्बन्धी समस्या देखिएर ज्यान गुमाएका थिए ।
उनलाई पोखरा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको वडाध्यक्ष वीरजंग भण्डारीले जानकारी दिए । अहिले जिल्लाका सबैजसो पालिकामा स्वाब संकलनको कामसमेत प्रभावकारी नभएको गुनासो छ ।
बडिगाडमा बल्ल आइसोलेसन बन्दै, ढोरपाटनमा व्यापक दबावपछि स्वाब संकलन
अर्कातिर न पर्याप्त आइसोलेसन छन् न त कन्ट्याक्ट ट्रेसिङ गरिएको छ । होम आइसोलेसन र आइसोलेसनमा रहेका गम्भीर बिरामीले सुरुदेखि नै राम्रो उपचार नपाउँदा दीर्घरोगसमेत रहेका संक्रमितहरू बढी जोखिममा छन् । कतिपय पालिकामा बल्ल आइसोलेसनको तयारी र स्वाब संकलन बल्ल सुरु भएको छ ।
बैशाख २५ गते बडिगाड गाउँपालिकाले ग्वालिचौर खार बजार नजिकै रहेको कँराते कवर्ड हल कोरोना भाइरस कोभिड– १९ को संक्रमण बढिरहेको बेला १० बेडको अक्सिजनसहितको आइशोलेसन कक्ष निर्माण गरेको थियो तर त्यो त्यति व्यवहारिक नभएपछि फेरि त्रिभुवन नमुना मावि खर्बाङमा फेरि आइसोलेसन गाउँपालिकामा बनाएको छ ।
गम्भीर संक्रमितको सारै ढिलो पहिचान हुँदा मानवीय क्षति बढ्यो
ढोरपाटन नगरपालिकाले जेठ १ गतेदेखि एक वर्षपछि स्वाब संकलनको काम सुरु गरेको छ । समयमै पालिकहरुमा संक्रमितहरुको पहिचान हुन सकेको भए र उनीहरुले तत्काल प्राथमिक उपचार पाएको भए अहिले अस्पतालमा भर्ना भएका धेरै गम्भीर संक्रमितहरु विरामीको जीवन बचाउन सकिने मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताउँछन् ।
समयमै रेखदेख, अनुगमन र रेस्क्यु नहुँदा नागरिकहरूले बाटैमा ज्यान गुमाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेका अनुसार अस्पतालमा आईसीयू बेड र तिनलाई सपोर्ट गर्न पर्याप्त भेन्टिलेटर छैनन् । चिकित्सक, स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्रीकै अभाव छ ।
न त परीक्षणको दर बढाइएको छ । ‘होम आइसोलेसन, पालिकाका आइसोलेसनमा भएका संक्रमितको अवस्थाबारे दैनिक अपडेट नहुने तथा गम्भीर लक्षण भएका र दीर्घरोगीहरूलाई समयमै अस्पताल नलैजाँदा बचाउन सकिएको छैन,’ उनले नयाँ विश्वसँग भने ।
चिकित्सक,अक्सिजन र स्वास्थ्य सामग्रीको चरम अभाव
धौलागिरि अस्पतालमा एक महिनादेखि मेडिकल अधिकृतको समेत अभाव छ । चैत पहिलो सातासम्म १४ मेडिकल अधिकृत रहेकोमा अहिले ४ जना मात्रै छन् ।
मन्त्रालयमा जनशक्ति माग गरे पनि नपठाइएको मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र पोखरेलले गुनासो गरे ।
उनका अनुसार अक्सिजन सिलिन्डर,पीपीईसहितका स्वास्थ्य सामग्रीको पनि चरम अभाव छ । अस्पतालको आफ्नो स्रोत नभएको, नियमित खरिदका लागि बजेट नआएको तर दैनिक दर्जनौं सेट पीपीई चाहिने अवस्था रहेकाले स्वास्थ्य सामग्रीका लागि दाता गुहार्नुपर्ने बाध्यता छ ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सामग्री आपूर्ति केन्द्रबाट चाहेजति सामग्री आएको छैन ।
‘सामान्य अवस्थाको झैं थोरै मात्र आउने गरेकाले इमर्जेन्सीमा उपचारमा खटिएका डाक्टर र नर्सलाई पीपीईलगायत सामान उपलब्ध गराउन सकिएको छैन,’ पोखरेलले भने, ‘सर्जिकल मास्कसमेत सकिँदै गरेकाले दुई दिनसम्म लगाउनुपर्ने बाध्यता छ ।’
याे पनि हेर्नुहाेस् :
मेयर नेपालीको हेलचेक्र्याइँले मूल्य चुकाउँदै ढोरपाटनबासी
कोरोना परीक्षण नहुँदा उपचार नपाएरै ज्यान गुमाउँदै ढोरपाटनका स्थानीय
कोरोना विरामीले भरियो धौलागिरि अस्पताल, व्यवस्थापन समितिको रूचि सामान खरीद र पूर्वाधारमा
कोरोना ‘हटस्पट’ बन्दै बागलुङ नगर, छैन बागलुङ नगरपालिकाको आफनै एम्बुलेन्स
धौलागिरि अस्पतालमा अक्सिजन प्लान्ट सर्भिसिङ नहुँदा अक्सिजन खेर गयो, मर्मत गर्ने रकम छैन
संक्रमितहरू घरमा छटपटाइरहँदा स्टोरमै थन्किए धौलागिरि अस्पतालका सय बेड













































































































































































































