बागलुङ । विद्यामन्दिर पुस्तकालय बागलुङका पूर्वअध्यक्ष तथा साहित्यकार शिक्षासेवी गंगा कसजुलाई हरिमोहन स्मृति सम्मान प्रदान गरिएको छ ।
शनिबार सम्पन्न पुस्तकालय बागलुङको ७६औँ साधारण सभा र ३७औँ अधिवेशनमा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठक, हरिमोहन स्मृति कोषका संस्थापक संरक्षक महेशचन्द्र प्रधान, कोषका संरक्षक कल्याणी प्रधान श्रेष्ठ र पुस्तकालयका अध्यक्ष राम थापा ‘अविरल’ ले नगद १५ हजार, दोसल्ला र सम्मानपत्रले सम्मानित गर्नुभएको हो।
हरिमोहन स्मृति कोषका संस्थापक संरक्षक प्रधानले कोषको उद्देश्य र सम्मानित व्यक्तित्व कसजुको बारेमा चर्चा गर्नुभएको थियो ।
स्वास्थ्य मन्त्री पाठकले कसजुले शिक्षा र बाल साहित्य क्षेत्रमा पुर्याउनु भएको योगदान अतुलनीय भएको बताउनुभयो। सम्मानित कसजुले हरिमोहन स्मृति सम्मानले आपूmलाई थप जिम्मेवार बनाएको बताइन् ।
कसजुले साविक विद्यामन्दिर बहुउद्देश्यीय विद्यालय हाल विद्यामन्दिर माविको माध्यमिक तह गृह विज्ञान विषय विसं २०२३ सालदेखि विसं २०३२ सालसम्म नौ वर्ष पढाउनु भएको थियो ।
उहाँले विसं २०२५ सालदेखि २०२६ सालसम्म विद्यामन्दिर पुस्तकालयको अध्यक्ष भएर शिक्षा क्षेत्रमा योगदान दिएकी थिइन् ।
कसजुले पाल्पाको तानसेन बजारमा रहेको मोहन कन्या माविमा विसं २०३२ सालेदेखि २०४६ सालसम्म र विसं २०४६ सालदेखि २०५४ सालसम्म त्रिभुवन बहुमुखी क्याम्पसमा अध्यापन गराउनुभयो ।
विसं २००५ सालमा आमा रत्न देवी र बुबा तेजबहादुर राजभण्डारीको कान्छि छोरीको रुपमा बागलुङ नगरपालिका-३ राधाकृष्ण टोलमा जन्मिएक कसजुले विसं २०२१ सालमा पाल्पाबाट एसएलसी दिएकी थिइन् ।
उहाँले विसं २०२३ सालमा सानो ठिमीबाट गृह विज्ञान विषयमा डिप्लोमा र विसं २०२८ सालमा भारतको दिल्लीबाट एडभान्स कोर्स गरेकी थिइन् । युनिसेफले कसजुलाई एडभान्स कोर्सको लागि दिल्ली पठाएको थियो ।
कसजुको १४ वटा बाल कथाका पुस्तकहरु प्रकाशित छन् ।













































































































































































































