बागलुङको बडिगाड गाउँपालिका–१० बल्देधुरीमा २ जनाको ज्यान जाने गरी भएका घटनापछि दर्लिङ गाउँका युवाहरू फरार भएका छन् ।
प्रहरी अनुसन्धान गर्न घटनास्थलमा गएपछि उनीहरू फरार भएकाे जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी प्रमुख कृष्णबहादुर पल्ली मगरले जानकारी दिए ।
होली खेल्न बल्देधुरी पुगेका निसिखोलका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइको आइतबार ज्यान गएको थियो । मेलामा झगडापछि उनीहरूको शव भीरमा भेटिएको थियो ।
‘झगडापछि दुई जनाको शव भीरमा भेटिएको छ, एसपी मगरले भने, ‘मारेर फालेको हो कि ज्यूउँदै फालेको हो अनुसन्धान भइरहेको छ ।’ स्थानीयका अनुसार युवतीलाई जबरजस्ती अबिर लगाउँदा युवाहरुबीच विवाद उत्पन्न भएको थियो ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका अनुसार प्रहरी अपराधी पत्ता लगाउने भन्दै प्रहरी गाउँमै बसेका छन् ।
स्थानीयका अनुसार जिल्लाबाट गएको प्रहरी टोली र इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली बडिगाड गाउँपालिका–१० का वडाध्यक्ष बिरेन्द्र बुढाको घरमा धर्ना दिएका छन् । फरार रहेका उनीहरुलाई झिकाउनुपर्ने भन्दै प्रहरीले वडाध्यक्षको घरमा धर्ना दिएका हुन् ।

दर्लिङका स्थानीय भने राजकुटका केही युवाले जबरजस्ती युवतीहरूमाथि रङ दल्दा झगडा भएको बताउँछन् । राजकुटका युवाहरू मदिरा खाएर त्यो चाैरमा पुगेको र त्यहाँ झगडा हुनुपूर्व केही तल दर्लिङका केही युवालाई राजकुटका युवाले हातपात गरेको एक स्थानीयले बताए ।
बडिगाड गाउँपालिका १० का वडाध्यक्ष वीरेन्द्र बुढाले पहिला राजकुटका युवाले दर्लिङका युवामाथि हातपात भएपछि विवाद उत्पन्न भएको बताउँछन् ।
निसिखोला गाउँपालिका– ९ का वडाध्यक्ष तेजेन्द्र कुँवर भने राजकुटका युवालाई दर्लिङका युवाले कुटेको र अहिले मृतकमाथि आरोप लगाउन खोजिएको बताए ।
मृतकको शव अहिले अस्पतालमा राखिएको छ । शवको व्यवस्थापन गर्ने वा कुनै कदम चाल्नेबारे पार्टीमा छलफल भइरहेको कुँवरले बताए ।

नेपाली कांग्रेसले दोषीमाथि कारबाहीको माग गर्दै साेमबार बुर्तिबाङमा प्रदर्शन गरेकाे छ ।
घटनाका दोषीलाई चाँडो भन्दा चाँडो कारबाही गर्न माग गर्दै कांग्रेसले बुर्तिबाङमा प्रदर्शन गरेको हो । तर घटनाको २४ घण्टा बितिसक्दासम्म पनि प्रहरीले कोहीलाई पनि पक्राउ गर्न सकेको छैन ।
एपसी मगर भन्छन्– ‘घटनामा गाउँका धेरै मान्छे अभियुक्त हुनसक्छन्, अहिले हामीले संलग्न भएकाहरु आउनुहोस् भनेका छौं, यदी त्यसो भएन भने गाउँका धेरै मान्छेले दुःख पाउँछन् ।’
नयाँ विश्वमा प्रकाशित याे पनि हेर्नुहाेस् :
बागलुङ घटनाका दोषीलाई पक्राउ गरी कारबाही गर्न कांग्रेसको माग
बागलुङ होली घटना : मृतक दुई जनाको शव पोष्टमार्टमका लागि अस्पताल लगियो
बागलुङ घटना : अनुसन्धानका लागि एसपीको टोली घटनास्थलतिर प्रस्थान
बागलुङमा होली मनाउने विषयमा झडप, भीरमा भेटियो दुई जनाको शव
होली लगाउने विषयमा बागलुङमा झडप, १५ जना भिरबाट खसेको आशंका (भिडियोसहित)
दर्लिङमा दुई युवा समूहबीच झडप, १५ जना बेपत्ता भएकाे आशंका
बल्देधुरी झडप : होली मेला अचानक यसरी बन्यो रणभूमि



















































































































































































































